पूर्वमन्त्री दिपक खड्कासँग भेटियो, स्रोत खुलाउन नसकेको एक अर्बमाथिको सम्पत्ति 

पूर्वमन्त्री दिपक खड्कासँग भेटियो, स्रोत खुलाउन नसकेको एक अर्बमाथिको सम्पत्ति 


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ७ जेष्ठ २०८३
  • 1.6K
    Shares

dipak khadka, दिपक खड्का

पोखरा, ७ जेठ २०८३।

नेपाली कांग्रेका नेता एबम पूर्वमन्त्री दिपक खड्कासँग स्रोत खुलाउन नसकेको एक अर्ब रुपियाँ भन्दा माथिको सम्पत्ति भेटिएको छ।  

सम्पत्ति शुद्धिकरण बिभाग, राजस्व अनुसन्धान विभाग हुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा पूर्वमन्त्री दिपक खड्कासँग स्रोत खुलाउन नसकेको एक अर्ब रुपियाँ भन्दा माथिको सम्पत्ति भेट्टाएको हो।

गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको अख्तियारसमक्ष पूर्व मन्त्री खड्काले एक अर्बभन्दा धेरैको सम्पत्तिको आय स्रोत खुलाउन नसकेको समाचार स्रोतहरुले जानकारी दिएका छन् । 

चलनचल्तीको मूल्यअनुसार एक अर्बभन्दा धेरैको सम्पत्ति भेटिएपछि आयोगले उनको सम्पत्ति विवरणको विश्लेषण गरी बयान लिन थालेको छ । सम्पत्ति शुद्धिकरण र राजस्व अनुसन्धान विभागले पनि उनको सम्पत्ति स्रोतमाथि अनुसन्धान गरिरहेका छन् ।

अख्तियारलेपूर्वमन्त्रीको हैसियतमा उनको सम्पत्ति भ्रष्टाचार निवारण ऐनअनुसार अनुसन्धान गराए प्रभावकारी हुने निष्कर्षसहित छानबिन तीव्र रुपमा अनुसन्धान गरिरहेको प्राप्त समाचारमा जनाइएको छ। जेठभित्रै मुद्दा दायर गर्ने गरी अनुसन्धान भइरहेको स्रोत बताउँछ ।

जेन–जी आन्दोलनका क्रममा खड्काको बुढानीलकण्ठस्थित घरमा ठुलो मात्रामा पैसा भेटिएको विवरण सार्वजनिक भएयता नै उनी सरकारी निकायहरूको छानबिनको दायरामा छन् । गत १५ चैतमा सम्पत्ति शुद्धिकरणसम्बन्धी कसुरमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो । उनको पक्राउ पुर्जी र म्याद थप कानुनसम्मत नदेखिएको भन्दै वैशाख ३ गते सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिटमा उनलाई थुनामुक्त गर्ने आदेश दिएसँगै उनी छुटिसकेका छन् ।

संखुवासभा घर भएका खड्का व्यवसायी पृष्ठभूमिका नेता हुन् । जलविद्युत्देखि होटेललगायत क्षेत्रमा उनको लगानी छ । लाजिम्पाटस्थित नेपाल स्काउटको जग्गा लिजसम्बन्धी विवादमा पनि उनी मुछिएका थिए । व्यवसायबाट कर तिरेर आर्जन गरेकोभन्दा स्रोत नखुलेको सम्पत्ति धेरै भेटिएको आयोग स्रोत बताउँछ । आयोगले आफन्त तथा सहयोगीहरूको नाममा राखेको सम्पत्तिउपर पनि छानबिन गरिरहेको छ ।

अख्तियार स्रोतका अनुसार एक जापानी नागरिकको ठुलो रकम पनि उनले शक्तिको आडमा हत्याएको अनुसन्धानमा खुलेको छ । ‘ती जापानिज नागरिकले धेरैतिर उजुरी गरेको, तर कतैबाट पनि अनुसन्धान नभएको देखिन्छ,’ अख्तियार स्रोतले भन्यो ।

खड्कासँगै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवामाथि पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सात महिनाअघि सँगै अनुसन्धान थालेको थियो । देउवा र उनकी पत्नी आरजुविरुद्ध पक्राउ पुर्जीसमेत जारी भइसकेको छ । तर, उनीहरू विदेशमा ‘भूमिगत’ छन् । उनीहरूलाई नेपाल ल्याउने नेपाल प्रहरीको प्रयास सफल भएको छैन । समाचार स्रोत : नयाँ पत्रिका दैनिक

प्रतिक्रिया