पोखरा , ३० बैशाख २०८३।
निर्वाचन आयोगले २०८४ सालमा हुने स्थानीय तह र प्रदेश सभाको निर्वाचन एकै मितिमा सम्पन्न गर्न राजनीतिक दलहरूलाई प्रस्ताव गरेको छ ।
राजनीतिक दलहरूसँग मङ्गलबार भएको विशेष छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्थानीय तह र प्रदेश सभाको निर्वाचन एकै मितिमा सम्पन्न गर्दा राज्यको करिब चार अर्ब रुपियाँभन्दा बढी खर्च बचत हुने जिकिर गर्दै दुवै निर्वाचन एकै मितिमा गर्न प्रस्ताब गरेका हुन्। २०८४ वैशाख ३० गते स्थानीय तह र सोही वर्ष मङ्सिर ४ गते प्रदेश सभाको पदावधि समाप्त हुँदैछ।
छलफलका क्रममा गत निर्वाचनमा जनप्रतिनिधिहरूले राजीनामा दिएर प्रतिनिधि सभामा प्रतिस्पर्धा गरेपछि रिक्त रहेका ७४ स्थानीय तहका पदहरू तथा प्रदेश सभाका रिक्त पदहरूमा निर्वाचन गर्ने विषयमा पनि परामर्श भएको छ । यस्तै सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने एक सदस्यको निधन भई रिक्त रहेको पदमा निर्वाचन गर्न आयोगले सरकारलाई यसअघि नै सिफारिस गरिसकेको बताए ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार आधुनिक प्रविधि र स्वच्छ, निष्पक्ष तथा भयरहित निर्वाचनका लागि नयाँ ऐन अपरिहार्य छ । दलहरूबाट प्राप्त सुझावका आधारमा आयोगले मस्यौदालाई अन्तिम रूप दिई गृह मन्त्रालयमार्फत छिट्टै विधायिकामा पठाउने तयारी गरेको छ ।