पोखरा, ३० चैत २०८२।
पूर्व प्रधानमन्त्री एबम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया प्रक्रिया शुरु भएको छ।
काठमाण्डौको महराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीको पित्तथैलीको शल्यक्रिया गर्न अपरेसन थिएटरमा लगिसकिएको छ। अपरेशन गरेर उनको पित्तथैलीमा रहेको पत्थरी निकालिने बताइएको छ।
यो शल्यक्रिया डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको चिकित्सक टोलीले गरिरहेको जनाइएको छ।
चिकित्सकका अनुसार ओलीको पित्तथैलीमा २२ एमएम आकारको ढुंगा रहेको छ, जसलाई शल्यक्रियामार्फत निकालिनेछ।
उनको स्वास्थ्य अवस्थाबारे थप विवरण शल्यक्रिया सम्पन्न भएपछि सार्वजनिक गरिने अपेक्षा गरिएको छ।
गत भदौमा भएको जेनजी आन्दोलनमा ज्यान जाने गरी दमन गरेको अभियोगमा प्रहरीले पक्राउ गरेपछि पूर्वप्रधानमन्त्री ओली चैत १४ देखि नै त्रिवि शिक्षण अस्पतालमा छन्।
चैत २६ गते हाजिरी जमानीमा उनी प्रहरीको नियन्त्रणबाट रिहा भए पनि शल्यक्रियाका लागि अस्पतालमै बसेका हुन्।