पोखरा, २९ चैत २०८२।
प्रधानमन्त्री बालेन्द्र शाह को भारत भ्रमणबारे नेपाल र भारतबीच सैद्धान्तिक सहमति भए पनि मिति अझै तय भएको छैन। परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय विदेश मन्त्री एस जयशंकर सँगको भेटमा उच्चस्तरीय भ्रमणबारे सकारात्मक छलफल भएको जानकारी दिएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीमा शाह निर्वाचित भएपछि दिएको बधाईपत्रमा भारत भ्रमणको निम्तो पनि गरेका थिए । त्यसको जवाफ फर्काउँदा नै प्रधानमन्त्री शाहले आफू ‘उचित समयमा भारतको भ्रमण गर्ने’ बताएका थिए ।
भ्रमणअघि भारतीय विदेश सचिव विक्रम मिश्री को नेपाल भ्रमण हुने सम्भावना छ। त्यसपछि मात्रै आवश्यक तयारी पूरा गरी प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय हुने बताइएको छ।
मौरिससमा भइरहेको नवौँ हिन्द महासागर सम्मेलनमा भाग लिने क्रममा भएको साइडलाइन वार्ताका क्रममा खासगरी नेपालको निर्वाचन र त्यसपछि बनेको नयाँ सरकारका प्राथमिकताका बारेमा कुराकानी भएको थियो ।
त्यस क्रममा आफूले भारतीय विदेशमन्त्रीसँग नयाँ सरकारले नेपालको परराष्ट्र नीतिसँगै नेपाल–भारत सम्बन्धका विविध आयामबारे समीक्षा गरिरहेकोबारे जानकारी दिएको परराष्ट्रमन्त्री खनालले बताए ।
‘नेपाल भारतबीच अत्यन्तै गहिरो राजनीतिक, आर्थिक तथा जनस्तरको सम्बन्ध छ । त्यसबारे हामीले अध्ययन गरिरहेका छौं । त्यस क्रममा नेपालले दुई देशको सम्बन्धका प्राथमिकताहरू निर्धारण गर्ने छ,’ मन्त्री खनालले भने, ‘त्यो सकेपछि दुई देशबीच विभिन्न संयन्त्रमार्फत वार्ता तथा छलफल गरौं । सँगसँगै उच्चस्तरीय भ्रमणको तयारी पनि गरौं भन्ने कुरा मैले राखेँ ।’
उक्त विषयलाई भारतीय विदेशमन्त्री जयशंकरले पनि सकारात्मक रुपमा लिएको उनले बताए । ‘त्यसलाई भारतीय विदेशमन्त्री जयशंकरले पनि सकारात्मक रुपमा लिनुभयो,’ मन्त्री खनालले भने ।
नेपाल र भारतबीच ४० वटाभन्दा धेरै विभिन्न दुईदेशीय संयन्त्रहरू छन् । ती संयन्त्रहरूलाई सक्रिय बनाएर दुई देशबीचको संवाद र सहकार्यलाई सघन बनाउने सहमति दुई मन्त्रीबीच बनेको पनि उनले बताए ।