मापदण्डविपरीतको वाटरफ्रोंट रिसोर्ट बचाउन फेवाकिनारमा बनाइएको त्यो कृतिम ढिस्को
पोखरा , २२ चैत २०८२।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य शुक्रबार राती करीब १० बजेतिर आफ्नै निवासमा सुत्ने तरखर गर्दै थिए। उनलाई खबर आयो कि “भोलि बिहान पांच बजेसम्म फेवातालको ६५ मिटर मापदण्डभित्रको अबैध घरटहरा भत्काउन शुरु गर्नु, अन्यथा संघ सरकारले नै उक्त काम आफैं गर्छ।
‘अब हामी छिट्टै फेवातालको मापदण्ड विपरीतका घरटहरा भत्काउछौं। अहिले हामी क – कसलाई मुआब्जा दिनुपर्ने हो कसलाई नपर्ने हो ? कुन चाहिं जग्गा दुषित दर्ता हो कुन हैन भनेर छुट्टाउदैछौं” भनेर गुत्थी बुनेर बस्ने मेयर धनराज आचार्य त्यस खबरले हायलकायल भए र असिन-पसिन पनि। उनले तुरुन्तै आफू निकट पत्रकारहरुलाई खबर गरे र तुरुन्तै मापदण्डविपरीतका घरटहरा भत्काउने आबश्यक जनशक्ति र डोजर तयार गर्न निर्देशन दिए।
बिहान पांच बजेसम्म फेवातालको मापदण्ड विपरीतका घरटहरा भत्काउन शुरु नगरिए Action Oriented प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङले प्रहरी परिचालन गरेर त्यो काम आफै शुरु गर्न सक्ने त्रास बोकेका मेयर आचार्य पोखरा महानगरपालिकाको डोजर र महानगरीय प्रहरी बल अन्तरगतका नगर प्रहरी बोकेर बिहान चारै बजे फेवातालतिर हान्निए।
शुक्रबार बेलुकी ओछ्यानमा जाँदासम्म पोखरा महानगरको डोजर आफ्नो घर भत्काउन आउला भनेर शंका समेत नगरेका फेवा किनारका जनता मस्त सुतिरहेका बेला घर भत्काउन आएको महानगरको डोजर देखेर झस्किए। उनीहरुले के हुन् लागेको हो भन्ने बारेमा केही मेशो नपाउदै महानगरको डोजरले भटाभट फेवातालको मापदण्ड भित्र परेका अस्थायी घरटहरा भत्काउन शुरु गरिहाल्यो।
आफ्ना घरटहराहरुमा डोजरचलाई चलाईरहदा स्थानीय बासिन्दाहरुले सामन्य प्रतिबाद शुरु गर्न थाले। उनीहरुले पुर्व जानकारी बिनै आफ्ना घरहरुमा डोजर चलाइएको, पर्यटकीय क्षेत्रमा पर्यटकहरुमा नकारात्मक प्रभाब पर्ने गरी आतंक मच्चाइएको, आफ्ना घरटहरा भत्काउने नै भए पहिले मुआब्जा दिनुपर्ने माग राखिरहे। तर महानगरका जिम्मेवार पदाधिकारीहरु र केही पत्रकारहरुले प्रधानमन्त्री बालेन शाहको निर्देशनमा डोजर चलाउन शुरु गरिएको भनेर स्थानीय बासिन्दाहरुलाई प्रश्न गर्न थाले पछि आक्रोशित स्थानीय बासिन्दाहरुले “को हो बालेन शाह ? पोखरा महानगरको मेयर बालेन शाहकी धनराज आचार्य ? भनेर प्रतिप्रश्न गरिरहे। आफूहरुले दिएको भोटले चुनाब जितेर गएपछि आफुहरुलाई बेघरबार हुने गरी आफ्ना घरहरुमा डोजर चलाउन शुरु नगरिएकोमा आक्रोश पोखे।
एकातिर आफ्ना अस्थायी घरटहराहरुमा डोजर चलिरह्यो, अर्कातिर नाराबाजी गर्दै उनीहरुले केही बेर सडक अवरुद्ध गरे। आक्रोशित स्थानीय बासिन्दाहरुले सडक जाम गर्न थाले पछि एक जना प्रहरीका अधिकृतले संचार सेटमा ” १० / १२ जना छन् हजुर, उठाउन आदेश पाउँ हजुर उठाई दिन्छु” भन्दै आदेश मागे। उनले मागेको आदेशलाई स्वीकार गर्दै सकारात्मक निर्देशन पाए पछि ती अधिकृतले माइकिङ्ग गर्दै अघि भने “ल है हजुर! जुनसुकै कारण जे सुकै बहाना बनाएर सडक अवरोध गर्न पाइदैन। तपाईंहरुले सडक अवरोध हटाइदिन पर्यो। ” ती अधिकारीले त्यस्तो अनुरोध गर्दा पनि आक्रोशित स्थानीय बासिन्दाहरुले अटेर गरे पछि एक हुल प्रहरी अघि बढेर सडक अवरोध हटायो।
सडक अवरोध हटाउने काम चलिरहदा महानगरको डोजर फेवातालको मापदण्ड विपरीतका घरटहरा भत्काइरहेकै थियो। मिडियामा बढी प्रचारमा आयो, पर्यटन ब्यबसायी कर्ण शाक्यले मापदण्ड मिचेर बनाएको वाटर फ्रोंट रिसोर्टको स्विमिङ्ग पुल भत्काइयो। तर ती समाचारहरुमा त्यही रिसोर्टको भौतिक संरचना बचाउन फेवातालको किनारमै बनाइएको सानो कृतिम ढिस्कोमा कसैको आँखा परेन। त्यही ढिस्कोको सानो भाग काटेर कुलो बनाई पूर्व पट्टिको भागमा अहिले पनि धानबाली लगाइएको छ। त्यही ढिस्कोलाई आधार मानेर मापदण्ड बिपरित बनाइएको वाटर फ्रोंट रिसोर्टको भवन बचाइएको छ। तर स्वीमिंग पुल भत्काइएको बिषयलाई प्राथमिकतामा राखेर प्रचार-प्रसार गरिएको छ। उक्त कृतिम ढिस्कोको बारेमा छानबिन हुनुपर्ने देखिएको छ।
मापदण्ड विपरीत बनेको भन्दै पोहोर साल नेकपा (बहुमत)का कार्यकर्ताहरुले उक्त रिसोर्टमा तोडफोड गरेका थिए। तर त्यस यता बहुमतका कार्यकर्ताहरु त्यस रिसोर्टका बारेमा केही बोलिरहेका छैनन्।
गृह मन्त्रालयको मध्यरातको कडा निर्देशनपछि पोखरा महानगरपालिकाले प्रहरीको सहयोगमा फेवाताल छेउछाउमा मापदण्ड विपरीत बनाइएका ३२ भन्दा बढी अस्थायी टहराहरू भत्काएर फर्किएको छ । शनिबार बिहानदेखि फेवातालको मापदण्ड विपरीतका घरटहरा भत्काउन शुरु गरिएको हौवा पिटिए पनि त्यस क्षेत्रमा पर्ने सबै संरचना भत्काइएको छैन। केही अस्थायी संरचना भत्काइएको भए पनि स्थायी संरचना भने केही गरिएको छैन।
यसैबीच शनिबार बिहानदेखि फेवातालको मापदण्ड विपरीतका घरटहरा भत्काउन शुरु गरिएको हौवा पिटेको पोखरा महानगरपालिकाले फेवातालको मापदण्ड विपरीत निर्माण भएका बाँकी संरचना हटाउन १५ दिने अल्टिमेटम जारी गरेको छ । शनिबार एक विज्ञप्ति जारी गरी महानगरले भत्काउन बाँकी रहेका सबै संरचना १५ दिनभित्र हटाइसक्न आदेश दिएको हो ।
‘तालको सीमाङ्कन कार्य सम्पन्न भइसकेपछि पनि सर्वोच्च अदालतबाट कायम गरिएको जल सतहको उच्चतम बिन्दुबाट ६५ मिटर भित्र पर्ने क्षेत्रमा रातारात संरचनाहरू निर्माण भएको पाइएकाले महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ,’ सूचनामा भनिएको छ, ‘अटेर गरी सीमाङ्कन पश्चात् निर्माण गरिएका सम्पूर्ण अनधिकृत संरचनाहरू यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र हटाउनुहुन सम्बन्धित निर्माणकर्तालाई सूचित गरिन्छ ।’
तोकिएको समयभित्र संरचना नहटाएमा महानगरपालिकाले कानुन बमोजिम आफैँ हटाउने र सो क्रममा लाग्ने खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुल उपर गरिने चेतावनी दिएको छ ।
‘तोकिएको समयभित्र संरचना नहटाएमा महानगरपालिकाले कानुन बमोजिम हटाउनेछ भने, हटाउँदा लाग्ने खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर तथा सरकारी बाँकी सरह कारबाही हुने ब्यहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि यो सार्वजनिक सूचना गरिन्छ,’ सूचनामा उल्लेख छ ।
यसअघि पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र नेपाल सरकारको संयुक्त पहलमा फेवातालको जल सतहको उच्चतम बिन्दु पहिचान गरी तालको सिमाङ्कनको काम सकिसकेको छ ।
६५ मिटर क्षेत्रभित्र पर्ने जग्गाको वर्गीकरण, मुआब्जा पाउने वा दूषित बदर हुने कित्ता निर्क्याेल गर्ने काम अन्तिम चरणमा रहेको महानगरले जनाएको छ ।