ग्राहकको खाताबाट रकम चोरी गरेको आरोपमा गाईघाटस्थित इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत महिला कर्मचारी पनि पक्राउ

ग्राहकको खाताबाट रकम चोरी गरेको आरोपमा गाईघाटस्थित इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत महिला कर्मचारी पनि पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १७ चैत्र २०८२
  • 3.2K
    Shares

पोखरा , १७ चैत २०८२।

उदयपुरको सदरमुकाम गाईघाटस्थित नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत एक महिला कर्मचारी पनि ग्राहकको खाताबाट रकम चोरी गरेको आरोपमा पक्राउ परेकी छिन्।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ५ घर भएकी उक्त बैंकमा कार्यरत महिला कर्मचारी सुनिता बानियाँ ग्राहकको खाताबाट रकम चोरी गरेको आरोपमा पक्राउ परेकी हुन्।

उनले उक्त बैंकको शाखामा रहेका ग्राहकको पैसा हिनामिना गरेको आरोप रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिए। उनलाई पक्राउ गरेर आबश्यक अनुसन्धान गरिदिन भन्दै उक्त बैंकले प्रहरीमा उजुरी दिएको प्राप्त समाचारमा जनाइएको छ।

प्रहरीले उनीसँग प्रारम्भिक बयान समेत लिइसकेको छ । प्रारम्भिक अनुसन्धानकाक्रममा ती कर्मचारीले ग्राहकहरूको खातामा रहेको रकम दुरुपयोग गरेको देखिएको छ ।

हाल ती आरोपित कर्मचारी प्रहरीको हिरासतमा छिन् र उनीमाथि बैंकिङ कसुर तथा ठगी मुद्दामा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दोङले जानकारी दिए ।

‘उनीसँग थप विवरण लिने काम भइरहेको छ । यस कार्यमा उनी एक्लै हुन् की अन्य व्यक्तिको पनि संलग्नता छ भन्नेबारे पनि सूक्ष्म अध्ययन गरिरहेका छौँ’, उनले भने ।

प्रतिक्रिया