पोखरा, ५ चैत २०८२।
अवैध रूपमा विदेशी मुद्रा बोकेको आरोपमा काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना नेपाली नागरिकलाई पक्राउ गरेको छ ।
चाइना साउदर्थन को उडानबाट आज बिहान पौने १२ बजे चीनको ग्वान्झाउ जान लागेका तीन जना नेपाली नागरिकलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका हुन्। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१ बस्ने ४५ वर्षीया अनिता लामा, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–६ बस्ने ३८ वर्षीया संगिता लामा र सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–७ बस्ने ४७ वर्षीय विनोद लामा रहेका छन् ।
प्रहरीका अनुसार , चीनको ग्वाङझाउतर्फ जान लागेका यात्रुहरूलाई बिमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान क्षेत्रमा जाँच गर्ने क्रममा उनीहरूको साथबाट २८ हजार ९ सय अमेरिकी डलर बरामद गरिएको हो। अनिताको साथबाट १० हजार, संगिताको साथबाट १० हजार र विनोदको साथबाट ८ हजार ९ सय डलर बरामद भएको हो ।
शरीर खानतलासी तथा ब्यागेज स्क्यानिङका क्रममा उनीहरूले लुकाई–छिपाई लैजान खोजेको अमेरिकी डलर फेला परेपछि तत्काल नियन्त्रणमा लिइएको सुरक्षा कार्यालयले जनाएको छ ।
पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पुलचोक, ललितपुर पठाइएको छ।
यस घटनाबारे थप अनुसन्धान जारी रहेको र विदेशी मुद्रा ओसारपसार नियन्त्रणमा कडाइ गरिएको कार्यालयले जनाएको छ।