लेक लागेर बिरामी परेका डोल्पाको माथिल्लो क्षेत्रमा पर्ने मतदान केन्द्रमा खटिएका पांच जना कर्मचारीहरुलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
जिल्लाको शे-फोक्सुण्डो गाउँपालिका–६ फोतगाउँस्थित वडा कार्यालय भवनमा रहेको मतदान केन्द्रमा खटिएका पाँच जना कर्मचारीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।
प्रशासनका अनुसार निर्वाचनको लागि फोतगाउँ मतदान केन्द्रमा खटिएका जिल्ला अदालतका सहायक कर्मचारी (डिठ्ठा) गोर्खबहादुर थापा, साल्ट ट्रेडिङ कर्पोरेसनका कार्यालय सहयोगी धनबहादुर महतरा तथा तीन निर्वाचन प्रहरी कृष्ण झाँक्री, आत्मराम बोहोरा र इन्द्रमान धरलालाई लेक लागेसँगैज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, बान्ता हुने तथा श्वासप्रश्वासमा समस्या भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरि उपचारको लागि जिल्ला अस्पताल डोल्पामा पठाइएको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयका सहायक निर्वाचन अधिकृत विदुर प्रसाद काेइरालाले जानकारी दिए ।
उक्त मतदान केन्द्र जिल्ला सदरमुकाम दुनैबाट पैदल करिब ६ दिनको दुरीमा पर्ने अत्यन्त दुर्गम स्थानमा रहेकाले तत्काल स्वास्थ्य सेवा पुर्याउन कठिनाइ भएपछि उद्धार गरिएको बताइएको छ ।
उक्त मतदान केन्द्रमा ४० मतदाता छन् । निर्वाचनको लागि उनीहरुलाई हेलिकप्टर मार्फत मतदान केन्द्रमा पुर्याइएको थियो ।
मतदान केन्द्रमा खटाइएका कर्मचारी बिरामी परेपछि उक्त मतदान केन्द्रमा आवश्यक वैकल्पिक व्यवस्था मिलाउने तयारी शुरु गरिएको छ ।