पोखरा,२० फागुन २०८२।
कैलालीमा मदिरा सेवन गरेर झगडा गरिरहेका दुई वटा युवा समुहहरुलाई नियन्त्रणमा लिन प्रहरीले छ राउण्ड हवाई फायर गरेको छ भने दुई जना प्रहरी अधिकृतहरु घाइते भएका छन्।
जिल्लाको धनगढी उपमहानगरपालिका–१३ मा मंगलबार साँझ मदिरा सेवन गरेर झगडा गरिरहेका दुई वटा युवा समूहबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले छ राउण्ड हवाई फायर गरेको हो। खानपिन गरेर होली मनाइरहेका दुई टोलका युवाबीच उत्पन्न विवादलाई सामान्य तुल्याउने क्रममा प्रहरीमाथि पनि आक्रमण भएपछि आत्मसुरक्षाका लागि हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सेनाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयका एसपी नरेन्द्र चन्दका अनुसार, उक्त झडप नियन्त्रणका क्रममा दुई जना प्रहरी अधिकृत पनि घाइते भएका छन् । घाइते हुनेमा प्रहरी निरिक्षक (इन्स्पेक्टर) बलराम पाण्डे र प्रहरी सहायक निरिक्षक (असई) डबल साउद रहेको एसपी चन्दले बताए । उनीहरूको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । सोही क्रममा जिल्ला प्रहरी कार्यालय कैलालीको एउटा गाडी पनि तोडफोड भएको बताइएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा होली खेलेर बसेका उनीहरू मदिरा समेत सेवन गरिरहेको अवस्थामा झडप भएको प्रहरीले जनाएको छ ।दुई टोलका युवाबीच पुरानो रिसइवीको निहुँमा आज होली मनाउने क्रममा विवाद उत्पन्न भई उग्ररुप लिएको जनाइएको छ । झडपका क्रममा घाइते कालु राना थारुलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रहरीले झडपमा संलग्न १२ जनालाई नियन्त्रणमा लिएको छ ।