मुस्ताङ र रामेछापमा भएका सवारी दुर्घटनामा मतदान अधिकृतसहित तीन जना कर्मचारीको मृत्यु, सात जना घाइते

मुस्ताङ र रामेछापमा भएका सवारी दुर्घटनामा मतदान अधिकृतसहित तीन जना कर्मचारीको मृत्यु, सात जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १९ फाल्गुन २०८२
  • 10.5K
    Shares

पोखरा , १९ फागुन २०८२।

मुस्ताङ्ग र रामेछापमा भएका छुट्टाछुट्टै दुई सवारी दुर्घटनामा मतदान अधिकृतसहित तीन जना कर्मचारीको मृत्यु भएको छ।

मुस्ताङमा भएको मोटरसाइकल दुर्घटनामा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर २ को झोङमा निर्वाचनका लागि खटिएका मुस्ताङ भन्सार कार्यालयका कर्मचारी ३२ वर्षीय सुनिल घतानेको मृत्यु भएको छ।

उनी चढेको ग ७ प १४८६ नम्बरको मोटरसाइकल थासाङ गाउँपालिका–२ खन्तीमा दुर्घटनाग्रस्त भएको थियो। आइतबार राति ८ बजे दुर्घटनामा परेर गम्भीर भएका घतानेको उपचारका लागि प्रदेश अस्पताल मुस्ताङ ल्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक छिरिङकिप्पा लामाले जानकारी दिएकी छिन् ।

यता रामेछापको सिरुवारीमा भएको गाडी दुर्घटनमा मतदान अधिकृतसहित दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

सोमबार मतदान सामग्री र निर्वाचन कर्मचारी लिएर रामेछापको रामेछाप नगरपालिका-२ देउरालीतर्फ जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको निसान गाडी देउराली सिरुवारीको भिरबाट खसेर दुर्घटनाग्रस्त भएको थियो। सो दुर्घटनामा परेर हुँदा रामेछाप–२ को वडा कार्यालय भवन, साँघुटार (ख) मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा खटाइएका रामेछाप नगरपालिका–३ स्थित साँघुटारस्थित रुद्राक्षश्वर माध्यामिक विद्यालयमा निमावि द्वितीय तहका शिक्षक डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसंगै सोहि दुर्घटनामा परेका असई पर्शुराम यादवको भने घटनास्थलमै मृत्यु भएको थियो । घाईते सात जनालाई भने उपचारका लागि काठमाडौँ पठाईएको छ । उनीहरुलाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ पठाईएको हो । 

प्रतिक्रिया