पोखियो एमालेभित्रको असन्तुष्टि : एमाले नेता बेदबहादुर गुरुङले नै नेकपाका उम्मेदवार राजकाजी गुरुङको पक्षमा अप्रत्यक्ष भोट मागे

पोखियो एमालेभित्रको असन्तुष्टि : एमाले नेता बेदबहादुर गुरुङले नै नेकपाका उम्मेदवार राजकाजी गुरुङको पक्षमा अप्रत्यक्ष भोट मागे


  • ओम हमाल
  • सोमबार, १८ फाल्गुन २०८२
  • 36.7K
    Shares

गुरुङ बाहुल्यता रहेको कास्की जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका नेता वेद बहादुर गुरुङ ‘श्याम’ ले नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार राजकाजी गुरुङ ‘करण’को पक्षमा अप्रत्यक्ष रुपमा भोट मागेका छन्।

एमालेको तर्फबाट गण्डकी प्रदेश सभा सदस्य रहेका गुरुङले आज सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै साबिक माओवादी केन्द्रका नेता रहेका राजकाजी गुरुङ ‘करण’को पक्षमा अप्रत्यक्ष रुपमा तारा चिन्हमा भोट हाल्न अपिल गरेका हुन्।

उनको यस स्टाटसले नेकपा एमालेभित्र अन्तरसंघर्ष र बिबाद रहेको प्रस्ट भएको छ। आफ्नो स्टाटसमा आफूलाई वामपन्थी एकताको पक्षमा रहेको जस्तो देखाएका नेता बेद बहादुर गुरुङले एमालेको उम्मेदवारप्रति असन्तुष्ट एमाले कार्यकर्तालाई ‘नेपाली कांग्रेस, राप्रपा र रास्वपा’ जस्ता बुर्जुवा पार्टीलाई भोट दिनुको सट्टा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार राजकाजी गुरुङको तारा चिन्हमा मतदान गर्न आव्हान गरेका छन्। उनले अन्य पार्टीको तुलनामा नेपाली कम्युनिस्ट पार्टीलाई केही क्रान्तिकारी भएको ठहर गर्दै राजकाजी गुरुङको पक्षमा भोट हाल्न अनुरोध गरेका छन्।

गुरुङ बाहुल्य रहेको कास्की १ मा गुरुङ जातिको उम्मेदवारी नहुँदा त्यस क्षेत्रका मतदाता असन्तुष्ट त देखिन्छन नै , त्यस्तो असन्तुष्टि एमालेभित्र पनि रहेको धेरैको बुझाई छ। यस्तो अवस्थामा एमालेका नेताले नै साविक माओवादी केन्द्रका नेता समेत रहेका राजकाजी गुरुङको पक्षमा अप्रत्यक्ष रुपमा भोट माग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

गण्डकी प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री भएर काम गरिसकेका नेता बेदबहादुर गुरुङ ‘श्याम ‘ त्यस क्षेत्रको चर्चित र प्रभावशाली नेता हुन्। उनले अहिलेको चुनाबमा बुर्जुवा भनिएका पार्टीका उम्मेदवारहरुलाई भोट दिनेलाई पछि एमालेमा फर्किएर आउने सम्भावना समेत नरहने चेतावनी दिएका छन। त्यसो त उनले सकभार आफ्नो प्रिय पार्टी एमालेको सूर्य चिन्हमा भोट हाल्न जोड दिएका छन्।

उनले कम्युनिष्ट मत विभाजन हुनुपर्ने अवस्था सिर्जना भए त्यो अर्को कम्युनिष्ट पार्टीभित्रै सीमित हुनुपर्ने बताएका छन्। त्यही अर्को कम्युनिष्ट पार्टीका रुपमा उनले नेकपालाई औंल्याएका छन्। कम्युनिष्ट मत बुर्जुवा पार्टीतिर सर्नु दीर्घकालीन रूपमा वामपन्थी आन्दोलनका लागि घातक हुने तर्क अघि सार्दै विगतमा नेकपा (एमाले) र माओवादी केन्द्रको आकार घटबढ हुँदा पनि मत कम्युनिष्ट पार्टीभित्रै घुमेको स्मरण गराएका छन् । “एमाले बलियो हुँदा माओवादी केन्द्र कमजोर भएको र माओवादी केन्द्र बढ्दा एमाले घटेको यथार्थता अघि सार्दै उनले कम्युनिष्ट मत अन्ततः कम्युनिष्टमै रहनुपर्ने धारणा अघि सारेका छन्।

कास्की जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा झन्डै एक लाख २६ हजार मतदाता रहेका छन्। ती मध्ये उक्त क्षेत्रमा बिगतमा झन्डै ६० प्रतिशत मात्र मत खस्ने गरेको छ। खस्ने मतमध्ये झन्डै २० प्रतिशत मत गुरुङ जातिको रहेको नेकपा नेता बिनय थापाले जानकारी दिए।

अहिले कास्कीको निर्वाचन क्षेत्र नम्बर १ मा कसले जित्छ भन्न सक्ने अवस्था नै छैन। प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरु बीच नै चौतर्फी कडा प्रतिष्पर्धा हुने आंकलन गरिएको छ।

बिगतको चुनाबमा राम्रो पकड जमाएको एमालेभित्र अन्तरसंघर्ष र बिबाद रहेको नेता बेदबहादुर गुरुङको स्टाटसले नै प्रष्ट पारेको छ। पार्टीभित्र बिबाद रहे पनि उम्मेदवार बैनबहादुर अधिकारी क्षेत्रि इमान्दार र कर्तब्यनिष्ट नेताका रुपमा परिचित छन्। बिगतमा गाउपालिकाको अध्यक्षदेखि जिल्ला समन्वय समिति कास्कीको प्रमुख भएर काम गर्दा उनी कलंकरहित पात्रको रुपमा चिनिएका छन्। हाल नेकपा एमाले कास्कीका अध्यक्ष रहेका नेता बैनबहादुर अधिकारी क्षेत्रि आफ्नो इमान्दारिता र कर्तब्य पालकको रुपमा जनताले भोट दिएर चुनाब जिताउनेमा ढुक्क छन्।

नेपाली कांग्रेसभित्र पनि भर्खरै सम्पन्न पार्टीको बिशेष महाधिबेशनको असर रहेको बताइन्छ। नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका तिलक रानाभाट अधिक समय काठमाण्डौमा नै बसेर म्यान पावर संचालन गरिरहेको कांग्रेसी कार्यकर्ताहरु बताउछन। उनलाई कतिपय कांग्रेसी कार्यकर्ताहरुले नै नचिन्ने अवस्था रहेको जिकिर गरिएको छ। उनी नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा निकट नेता मानिन्छ। उनको काठमाण्डौस्थित घरमा नै पार्टी सभापति गगन थापाले आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको प्राप्त समाचारमा जनाइएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गनेश पौडेल एक बौद्धिक र साहित्यिक व्यक्तित्वका रुपमा स्थापित छन्। उनी रस्वपाभित्र पनि बालेन शाह पक्षधर नेता मानिन्छन। उनी यो भन्दा अघिको चुनाबमा पनि लौरो अभियान चलाएर लौरो चिन्ह नै लिएर चुनाब लडेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीको देशव्यापी लहरकाकारण उनले चुनाब जित्ने त हैनन् ? राजनीतिक वृत्तमा सन्देह: छ। तर कुनै सांगठानिक आधारहरु नरहेको अवस्थामा रास्वपाले कास्की १ मा चुनाब जित्न सहज छैन भन्नेहरु पनि कम छैनन्।

१० वर्षीय जनयुद्धका कमान्डर राजकाजी गुरुङ बिगतमा पनि कहिले चुनाब जित्ने र कहिले हार्ने गर्दै राजनीतिलाई अघि बढाई रहेका छन्। गुरुङहरुको बाहुल्यता रहेको कास्की १ मा प्रमुख राजनीतिक दलहरुले गुरुङ जातिको तर्फबाट उम्मेदवार नबनाएको अवस्थामा त्यस क्षेत्रका अधिक गुरुङहरुको भोट पाएर आफु बिजयी हुनेमा उनी ढुक्क छन्। त्यति मात्र हैन बिगतको तुलनामा त्यस क्षेत्रमा पार्टीको सागठानिक अवस्था अलिक नजबुत रहेको उनको जिकिर छ।

नेपाली कम्युनिष्ट पार्टीको पोलिटब्युरो सदस्य समेत रहेका नेता राजकाजी गुरुङ ‘करण’ यसपटक आफुले चुनाब जित्ने दाबी गरिरहदा उनकै पार्टीभित्रको एउटा समूहले उनलाई चुनाबमा सहयोग नगरेको बताउने उनकै कार्यकर्ताहरु धेरै छन्। नेता जनार्दन शर्मा प्रभाकर’ साबिकको माओवादी केन्द्रमा रहंदा उनको समर्थन गरिरहेका केही नेताहरुले उम्मेदवार राजकाजी गुरुङलाई असहयोग गरिरहेको बताइएको छ। अद्यापि नेता राजकाजी गुरुङ पार्टीभित्र त्यस्तो बिबाद नरहेको दाबी गर्छन। बाहिर हल्ला गरिएका नेताहरु अहिले पनि चुनाब प्रचार अभियानमा संलग्न रहेको दाबी गरिएको छ। बिगतमा नेता गुरुङलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीसंग मोटो रकम असुलेको आरोप लाग्ने गरेको भए पनि अहिले उनले त्यो आरोप झुठो रहेको भनेर जनतामाझ प्रस्ट पारिसकेका छन्।

सरसर्ती हेर्दा कास्की निर्वाचन क्षेत्र नम्बर १ मा कसले जित्छ भनेर यसै भन्न सक्ने अवस्था छैन। तर जसले जिते पनि कम मतको अन्तरमा चुनाब जिने आंकलन गर्न कुनै गाह्रो मान्नुपर्ने अवस्था छैन।

प्रतिक्रिया