मोरङमा मतदातालाई नगद बाँड्दै गरेको आरोपमा तीन जना कांग्रेस कार्यकर्ता साढे चार लाख रुपैयाँसहित पक्राउ

मोरङमा मतदातालाई नगद बाँड्दै गरेको आरोपमा तीन जना कांग्रेस कार्यकर्ता साढे चार लाख रुपैयाँसहित पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १७ फाल्गुन २०८२
  • 8.1K
    Shares

पोखरा , १७ फागुन २०८२।

मोरङमा मतदातालाई नगद बाँड्दै गरेको आरोपमा तीन जना कांग्रेस कार्यकर्ता साढे चार लाख रुपैयाँसहित पक्राउ परेका छन्।

मतदातालाई नगद बाँड्दै गरेको आरोपमा रतुवामाई नगरपालिका–७ जामवाढी क्षेत्रमा शनिबार राति करिब ९ः३० बजेतिर तीन जना नेपाली कांग्रेसका कार्यकर्ताहरु पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा नेपाल किसान महासंघ कोशी प्रदेशका सचिव रतुवामाई नगरपालिका–८ का ४५ वर्षीय टेकनाथ घिमिरे, कांग्रेसका महाधिवेशन प्रतिनिधि रतुवामाई–९ का ६० वर्षीय खड्गबहादुर चोङवाङ लिम्बू र पार्टीका क्रियाशील सदस्य ४८ वर्षीय चक्र नेपाली रहेका प्रहरीले जानकारी दिएको छ।

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी रकम वितरण भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट प्रहरी निरीक्षक कैलाश लिम्बूको नेतृत्वको परिचालित प्रहरी टोली;ए उनीहरुलाई पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ।

उक्त प्रहरी टोलीले रतुवामाई नगरपालिका–७ जामवाढी क्षेत्रमा शनिबार राति करिब ९ः३० बजेतिर को १ च ७३३८ नम्बरको कार रोकेर चेकजाँच गर्ने क्रममा उक्त कारभित्रबाट चारलाख ४९ हजार रुपैयाँ नगद, नेपाली कांग्रेसका पम्प्लेट, ब्यानर तथा नमुना मतपत्र बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद नगद, प्रचार सामग्री र सवारीसाधनसहित तीनै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिजुवामा राखेको छ। निर्वाचन आचारसंहिताविपरीत मतदाता प्रभावित पार्ने उद्देश्यले रकम वितरण गर्न हिँडेको हुनसक्ने आशंकामा उनीहरूमाथि अनुसन्धान भइरहेको जनाइएको छ।

बरामद रकमको स्रोत, ओसारपसारको उद्देश्य तथा अन्य संलग्न व्यक्तिबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया