पोखरा, १४ फागुन २०८२।
बैतडीमा चुनाव प्रचारप्रसारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन्।
जिल्लाको डिलासैनी गाउँपालिका-७ लेक टोलमा घरदैलो कार्यक्रमका क्रममा दुवै पक्षबीच विवाद चर्किएपछि झडप भएको जिल्ला प्रहरी कार्यालय बैतडी ले जनाएको छ।
प्रहरीका अनुसार घाइते हुनेमा डिलासैनी-७ का २८ वर्षीय जनक धामी र २६ वर्षीय माधव धामी रहेका छन्। दुवै जना एमाले निकट युवा संघसँग आबद्ध रहेको बताइएको छ।
झडपमा जनकको टाउको र निधारमा चोट लागेको छ भने माधवको ढाड र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। उनीहरूको उपचार गोकुलेश्वर अस्पतालमा भइरहेको छ।
कुटपिटमा संलग्न ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरूकाे नाम भने खुलाइएकाे छैन् ।
घटनाबारे थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको र अवस्था नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।