पोखरा, १३ फागुन २०८२।
आसन्न चुनाबमा पार्टीभित्रैबाट अन्तरघात हुने आशंका भैरहेका बेला नेकपा एमालेका तर्फबाट कास्की निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका युवा नेता रश्मी आचार्यको चुनाब प्रचार-प्रसारमा एमालेको जिल्लाका अधिकांश नेताहरु फिल्डमा उत्रिएको देखिएको छ।

नेकपा एमालेले आज बिहान पोखरा महानगरपालिका वडा नम्बर ८ र ९ मा आयोजना गरेको घरदैलो कार्यक्रममा असन्तुष्ट कास्की जिल्ला पार्टी संयोजक कृष्ण थापा पनि देखिए। उनको साथमा नेपाली कांग्रेसको तर्फबाट पोखरा ९ मा वडाध्यक्ष बिजयी बनेका दिपेन्द्र मर्सानी पनि केही बेर चुनाब प्रचार प्रसारमा सहभागी भएका थिए।

एमाले कास्कीका संयोजक कृष्ण थापाले आफुलाई पार्टीले दिएको उम्मेदवारीको टिकट पार्टीका केन्द्रीय सचिव खगराज अधिकारीले खोसेर रश्मि आचार्यलाई दिएको भन्दै सार्वजिक रुपमा संचार माध्यममा असन्तुष्टि प्रकट गरेका छन। उनी उम्मेदवार बनेका रश्मी आचार्यले आफ्नो घोषणा सार्वजनिक गर्ने कार्यक्रममा सहभागी भएका थिएनन् भने त्यसपछि पोखरा १६ मा आयोजित घरदैलो कार्यक्रममा मात्र सहभागी भएका थिए। पार्टीले गठन गरेको राष्ट्रिय पिपुल्स भोलेन्टिएर्सको गण्डकी प्रदेश समिति घोषणा सभामा पनि उनी सहभागी थिए।

पार्टीका जिल्ला संयोजक कृष्ण थापा पार्टीको सिमित कार्यक्रमहरुमा सहभागी भएको देखेका पार्टीका नेता तथा कार्यकर्ताहरुले मतदानका बेला अन्तरघात हुने हो कि भन्ने आशंका गरिरहेका थिए। आज पार्टीको चुनाब प्रचार प्रसार कार्यक्रममा उनी सहभागी भएको देखे पछि एमालेका नेता तथा कार्यकर्ताहरुमा उत्साहित देखिएका छन्। घरदैलो कार्यक्रममा पनि पार्टीका नेता तथा कार्यकर्ताहरुको आज उल्लेख्य सहभागिता रहेको छ।
आजको चुनाब प्रचार प्रसार कार्यक्रममा भएको घरदैलोमा एमाले कास्की -२ का उमेदवार रश्मि आचार्य सहित जिल्लाका ईञ्चार्ज कृष्ण थापा, पार्टी केन्द्रीय सदस्य प्रभा कोईराला र निवर्तमान केन्द्रीय सदस्य चुडामणी जंगली पनि सहभागी रहेका छन्।