एमालेको गढ पोखरा १६ लाई पकडमा लिन अन्य पार्टीका उम्मेदवारहरुको हानाथाप : किचलोमा एमाले

एमालेको गढ पोखरा १६ लाई पकडमा लिन अन्य पार्टीका उम्मेदवारहरुको हानाथाप : किचलोमा एमाले


  • ओम हमाल
  • बुधबार, १३ फाल्गुन २०८२
  • 6.8K
    Shares

पोखरा , १५ फागुन २०८२।

चुनाब आउनै लाग्दा पन्चायाताकालदेखि कम्युनिष्टहरुको गढ मानिदै आएको हालको पोखरा महानगरपालिकाको वडा नम्बर १६ स्थित बाटुलेचौर क्षेत्र आफ्नो पकडमा लिन अन्य राजनीतिक दलहरु हानाथाप गरिरहेका छन्।

यतिबेला नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारहरु पोखरा १६ मा एमालेको दबदबालाई समाप्त पार्न सम्पर्क सूत्रको खोजी गर्दै मतदाताको घर – घर र टोल – टोलमा पुगिरहेका छन्।

त्यसो त पोखरा महानगरपालिकाको वडा नम्बर १६ नेकपा एमालेको पकड क्षेत्र मानिदै आएको छ। तर गएको स्थानिय तहको चुनाबमा पोखरा महानगरपालिकाको मेयर पदमा शुरुमा तात्कालिन चर्चित शिक्षकहरुका नेता दिपक पौडेललाई टिकट दिइएकोमा पछि उनको टिकट खोसेर गण्डकी प्रदेश सभाका सांसद रहेका एमाले कास्कीका तत्कालिन अध्यक्ष कृष्ण थापालाई उम्मेदवार बनाइएका कारण पोखरा १६ मा एमालेभित्र ब्यापक किचलो रहेको छ। हाल नेकपा एमाले कास्कीको संयोजक रहेका थापा त्यही पोखरा १६ का बासिन्दा हुन्। त्यही वडामा एमालेका चर्चित नेता सोमनाथ अधिकारी प्यासी ‘ पनि बस्ने गरेका छन्। उनी बातुलेचौरकै रैथाने स्थानीय बासिन्दा हुन्।

त्यसमा पनि तत्कालिन एमाले कास्कीका जिल्ला सदस्य रहेका मोहन सुनारलाई आफ्ना पिताको काजकिरिया गर्न क्षेत्रीहरुले प्रयोग गर्दै आएको सामाजिक भवन नदिइएका कारण त्यस जातीय भेदभावको मुद्दाले राष्ट्रिय तथा अन्तरराष्ट्रिय चर्चा पाएको थियो। त्यही जातीय भेदभावको मुद्दाले आज पनि स्थानीय स्तरमा मनमुटाव रहेको र एमालेको नेतृत्वमाथि नकारात्मक टिप्पणी हुने गरेको बताइएको छ।

तात्कालिन अवस्थामा नेकपा एमालेको गण्डकी प्रदेश समितिमा खगराज अधिकारी र पृथ्वी सुब्बा गुरुङ समूह स्थापित हुँदा एमालेभित्र ठुलो फाटो देखिएको थियो। फलस्वरूप पोखरा महानगरपालिकाको उपमेयर पदमा लोकप्रिय मतका साथ् एमाले नेत्री मन्जुदेवी गुरुङले बिजय हासिल गर्दा मेयर पदमा कृष्ण बहादुर थापाले शर्मनाक हार व्यहोरेका थिए। त्यति मात्र हैन, पोखरा महानगरपालिकाका ३३ वटा वडाहरुमध्ये २२ वटा वडाका वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवाहरुले जितेका थिए। तिनै २२ वटा वडाहरुमध्ये पोखरा १६ मा नेपाली कांग्रेसका अमृत प्रसाद तिमिल्सिनाले अध्यक्ष पदमा बिजय हासिल गर्दा चार जना वडा सदस्यहरु भने एमालेका उम्मेदवारहरु बिजयी भएर काम गरिरहेका छन्।

समग्र कास्की जिल्लामा यी तीन वटा बिबादले नेकपा एमाले चिरा परेको जस्तो देखिएको छ। अद्यापि एमालेका नेता तथा कार्यकर्ताहरु यो कुरा स्वीकार गर्न चाहदैनन्। हालको अवस्थामा ती समस्याहरु ज्यूँका त्यूँ छन्। मात्र एमालेको राजनीतिमा गुट अदली बदलीमा उल्टा सूई घुमेको छ। हाल नेकपा एमालेको केन्द्रीय सचिव रहेका खगराज अधिकारीको किचन क्याबिनेट भएर काम गरेका बिगतका नेता तथा कार्यकर्ताहरु अहिले उनको पक्षमा छैनन्। स्वार्थपूर्ण सम्बन्ध बनाएका आफ्ना किचन क्याबिनेटका नेता-कार्यकर्ताहरुलाई पाखा लगाएर नेता अधिकारीले गण्डकी प्रदेशमा आफ्नो पकड कायम गरेका छन्।

हाल नेकपा एमाले कास्कीको संयोजक रहेका पोखरा १६ बाटुलेचौरका बासिन्दा कृष्ण थापाले नेकपा एमालेका सचिव बनेका खगराज अधिकारीकाकारण आफुले कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार हुन नपाएको भनेर सार्वजनिक रुपमा नै अभिव्यक्ति दिएका छन्। उनको यो सार्वजनिक अभिव्यक्तिले हाल नेता अधिकारीका तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरुलाई उनले सहयोग गर्लान कि नगर्लान ? सन्देह देखिएको छ। अद्यापि कास्की जिल्ला संयोजक भएकाले नेता थापाले एमाले उम्मेदवारहरुलाई जिताउन सार्वजनिक सञ्जालमार्फत अपिल भने गरिरहेका छन्।

कास्की जिल्लामा आफ्नो उपस्थिति जनाउन नेता कृष्ण थापाले नेपाली कम्युनिष्ट पार्टीभित्र रहेका तात्कालिन एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरुलाई एमालेमा प्रवेश गराएका छन्। त्यस उपस्थितिले नेता थापा केही सवाल भएको जस्तो अर्को पक्षले अनुभूत गरेको छ।

यिनै किचलोका बीच चिरा परेको जस्तो देखिएको एमालेका दुई समूह मध्ये कुनले कसलाई सहयोग गर्छन धेरैअले चनाखो भएर हेरिरहेका छन्। पोखरा १६ भित्र रहेका दलित भनिएका वर्गले एमालेलाई सहयोग गर्लान् त ? नेता थापा पोखरा उपमहानगरपालिकाको मेयर हुँदा राजनीतिक नियुक्ति दिएका गन्धर्व बस्तीमा यति बेला नेपाली कम्युनिष्ट पार्टीको तारा चिन्ह अंकित झण्डा फ़रफ़राइरहेको छ। यसको अर्थ के हो ? तात्कालिन अवस्थामा जातीय उत्पीडनमा परेका नेता मोहन सुनार अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।

नेपाली कांग्रेसको तर्फबाट गण्डकी प्रदेश सांसद बनेर प्रदेश मन्त्री बनेका कुमार खड्काले नेपाली कांग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। उनी पनि पोखरा १६ कै बासिन्दा हुन्। उनको कांग्रेस परित्याग र रास्वपा प्रवेशले पनि पोखरा १६ को राजनीतिमा ठुलो अर्थ राख्ने राजनीतिककर्मीहरु आंकलन गरिरहेका छन्। उनी प्रदेश मन्त्री भएको भए पनि आफु जन्मिएको वडामा करोडौं रुपियाँ बजेट बिनियोजन गरेर उनी वडाका मन्त्री भएको भनेर ब्यापक बिरोध भएको थियो। त्यसको गुन पोखरा १६ का बासिन्दाले तिर्छन कि तिर्दैनन ? प्रतीक्षाको बिषय बनेको छ। नेता कुमार खड्का यति बेला कास्की क्षेत्र नम्बर २ मा रास्स्वपाका उम्मेदवार उत्तमप्रसाद पौडेललाई बिजयी गराउन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लागिरहेका छन। ठुलो तामझामका साथ् रास्वपा प्रवेश गर्दा उनी प्रदेश सांसद बनेर गण्डकी प्रदेशकै मुख्यमन्त्री बन्ने धेरैले अपेक्षा गरेका छन् ।

नेता कुमार खड्काले नेपाली कांग्रेस परित्याग गरेको अवस्थामा पोखरा १६ मा त्यसले कांग्रेसी उम्मेदवार माधब प्रसाद बास्तोलालाई प्रभाव पार्ने राजनीतिक विश्लेषकहरुको भनाई छ। तर उनका आलोचकहरुले कुमार खड्काको कांग्रेसबाट भएको बहिर्गमनले कांग्रेसलाई चुनाबमा खासिया असर नपर्ने जिकिर गरिरहेका छन्।

हुन त ब्यापक टिकाटिप्पणी चलन थाले पछि नेकपा एमाले कास्कीका संयोजक कृष्ण थापा यतिबेला भर्खर एमाले उम्मेदवार रश्मि आचार्यको चुनाबी प्रचार अभियानमा सहभागी हुन थालेका छन्। उनी चुनाबी प्रचार अभियानमा सहभागी भैरहंदा उनले बास्तबमै रश्मी आचार्यलाई सहयोग गरेका छन् की छैनन। चुनाब पछि आउने चुनाबी परिणाममा प्रस्ट हुनेछ।

यसरी मुलुकका सबैभन्दा ठुला राजनीतिक दलहरु नेपाली कांग्रेस र नेकपा एमाले भित्र देखिएको किचलोकाकारण नयाँ शक्तिका रुपमा स्थापित भएको ठानिएको राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कम्युनिष्ट पार्टीले फाइदा उठाउन सक्ने अनुमान गरिएको छ।

सांगठानिक रुपमा त्यति सबल नरहेका राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारहरु क्रमश: उत्तमप्रसाद पौडेल र हेम बहादुर थापा “किरण” ले तिनै दुई राजनीतिक पार्टीका असन्तुष्ट नेता तथा कार्यकर्ताहरुको मत आफूतिर तान्नतर्फा आफ्नो ध्यान केन्द्रित गरिरहेका छन्। उनीहरुले नेकपा एमाले र नेपाली कांग्रेसभित्र रहेका असन्तुष्ट नेता तथा कार्यकर्ताहरुलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भेटेर आफ्नो पक्षमा उनीहरु कसरत गरिरहेका छन्।

साना दल ठानिएका रास्वपा र नेपाली कम्युनिस्ट पार्टीका उमेदवारहरुले आफ्नो पक्षमा मत पार्ने कसरत गरिरहेका बेला ठुला दल भनिएका नेपाली कांग्रेस र एमालेले आफ्नो साख जोगाउन पार्टी भित्र र बाहिर ठुलो संघर्ष गरिरहेका छन्। साना दलका कसरत र ठुला दलको संघर्ष कुनले बिजय हासिल गर्छ? अर्को कुनै बिपत्ति नआएमा आउने फागुन २१ गते हुने चुनाबमा आउने परिणामले देखाउने छ।

प्रतिक्रिया