४० किलोमिटर टाढाको साङ्ता मतदान केन्द्र पुग्न नौदिन अघि मात्र हिउँ पन्छाउन शुरु

४० किलोमिटर टाढाको साङ्ता मतदान केन्द्र पुग्न नौदिन अघि मात्र हिउँ पन्छाउन शुरु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १३ फाल्गुन २०८२
  • 5.2K
    Shares

मुस्ताङ १३ फागुन २०८२।

मुस्ताङ सदरमुकाम जोमसोमदेखि करिब ४० किलोमिटर टाढा रहेको साङ्ता गाउँमा अहिले केही गोठाला र पशुचौपाया बाहेक मानिस त्यहाँ बसेका छैनन्। अत्यधिक चिसोकाकारण त्यहाँका बासिन्दा जाडो छल्न यति बेला पोखरा लगायतका देशका विभिन्न स्थानहरुमा बसिरहेका छन्।

समुन्द्री सतहको चार हजार ५०० मिटरको उचाइमा अवस्थित साङ्ता गाउँमा जम्मा १३ घरधुरी रहेकोमा ३९ जना मतदाता छन् र त्यही गाउँमा रहेको हिमाली आधारभूत विद्यालयलाई मतदान केन्द्र बनाइएको छ।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थापित वारागुङ मुक्तिक्षेत्र–५ स्थित साङ्ता मतदान केन्द्र अनुगमन गर्न केही दिन अघि निस्किएको जिल्ला सुरक्षा समितिको टोली साङ्ता गाउँ जाने बाटोमा जमेको बाक्लो हिउँकाकारण आधा बाटोमा पुगेर फर्किएको थियो । अहिलेसम्म हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा सरकारी अनुगमन टोली पुग्न सकेको छैन। त्यसमा पनि त्यस मतदान केन्द्रमा रहेका मतदाता चैत-वैशाख महिनामा मात्रै गाउँ फर्कन्छन् ।

तर स्थानीय प्रशासनले चुनाब हुन नौ दिन बाँकी रहंदा ४० किलोमिटर टाढा रहेको साङ्ता गाउँ जाने बाटोमा जमेको हिउँ पन्छाउन शुरु गरेको छ। साङ्ता मतदान केन्द्र जाने (मुस्ताङ–डोल्पा) सडकको हिउँ मङ्गलबारदेखि पन्छ्याउन शुरु गरिएको हो ।

हिमपातका कारण गत कात्तिक १० गतेदेखि पूर्णरुपमा अवरुद्ध उक्त सडकमा सवारी सञ्चालनका लागि हिउँ पन्छ्याउन शुरु गरिएको वारागुङ मुक्तिक्षेत्र–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए।

भौगोलिक रुपले विकट स्थानमा रहेको मुस्ताङको साङ्ता गाउँका नागरिक अहिले गाउँभन्दा बाहिर छन् । मुस्ताङ र डोल्पाको सिमाना नजिक रहेको साङ्ता गाउँका नागरिकहरु मङ्सिर अगावै जाडो छल्न गाउँ छोडेर मुस्ताङको जोमसोम आसपासका गाउँहरुमा आफन्तहरुको घरमा बसेका छन् । केही भने हिउँदयामको छेकोमा जाडो छल्न पोखरा–काठमाडौँ झरेका छन् । गाउँमा केही पशुचौपाया हेर्ने गोठालाहरु बाहेक पूरै गाउँका घरहरुमा ताल्चा मारिएको छ । लाग्छ स्थानीय सबै गाउँ छोडेर गएपछि साङ्ता गाउँ पूरै गुमनाम जस्तै छ ।

प्रतिक्रिया