पोखरा १२ फागुन २०८२।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले सवारी सरुवा सहमति गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा यातायात व्यवस्था कार्यालय, हेटौंडाका अधिकृत छैटौं अमृत भेटुवाल र बिचौलिया खगेन्द्र पौडेललाई नियन्त्रणमा लिएको छ।
विशेष सूचना र उजुरीका आधारमा खटिएको आयोगको टोलीले बिचौलिया पौडेलले सेवाग्राहीबाट ११ हजार ५ सय रुपैयाँ घुस लिइसकेको अवस्थामा हेटौंडा उपमहानगरपालिका वडा नं. ११ स्थित कार्यालय परिसरबाटै आजै दुवै जनालाई ३ थान मोबाइलसहित नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै व्यक्तिमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ताले जानकारी दिनुभएको छ।