अमेरिकामा छोरी र श्रीमतीको हत्या गर्ने नेपालीको प्रहरी कारबाहीमा मृत्यु, ज्वाईं घाइते

अमेरिकामा छोरी र श्रीमतीको हत्या गर्ने नेपालीको प्रहरी कारबाहीमा मृत्यु, ज्वाईं घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १२ फाल्गुन २०८२
  • 7.9K
    Shares

पोखरा १२ फागुन २०८२।

अमेरिकामा आफ्नो छोरी र श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गर्ने एक नेपालीलाई प्रहरीले गोली हानेर मारेको छ।

अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीको पर्सिमोन ड्राइभस्थित अपार्टमेन्टमा सोमबार बिहान करिब ५:१५ बजे आफ्नो ५१ वर्षीया श्रीमती बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापालाई धारिलो हतियार प्रहार गरी हत्या गरेका ५० वर्षीय छत्रबहादुर थापालाई प्रहरीले गोली हानेर मारेको हो।

घटनाको समयमा छत्रबहादुरका ज्वाइँ ३५ वर्षीय सन्तोष कुमार बस्नेत घरबाहिर कारबाट हिउँ पन्छाउँदै थिए। भित्र झगडा भएको आवाज सुनेर ९११ मा फोन गर्दै उनी घरभित्र पस्दा आफ्नी श्रीमती ३१ वर्षीया ममता थापा र ५१ वर्षीया सासू बिन्दा थापालाई रक्ताम्मे अवस्थामा देखेका थिए । उनीहरुको हत्यापछि छत्रबहादुरले ज्वाईं सन्तोषमाथि पनि सोही हतियारले आक्रमण शुरु गरेका थिए।

प्रहरी अधिकारीहरू घटनास्थल पुग्दा छत्रबहादुरले सन्तोषमाथि प्रहार गरिरहेको अवस्थामा फेला पारेका थिए। प्रहरीले पटक-पटक हतियार फाल्न दिएको आदेश नमानेपछि एक युवा प्रहरी अधिकारीले गोली चलाउँदा आक्रमणकारी छत्रबहादुरको घटनास्थलमै मृत्यु भएको छ। यस भीषण आक्रमणमा परी बिन्दा थापा र ममता थापाको मृत्यु भएको छ भने गम्भीर घाइते सन्तोष कुमार बस्नेतको अवस्था अत्यन्तै नाजुक रहेको छ।

उक्त घरमा रहेका एक वर्षीय शिशु भने भाग्यवश पूर्ण रूपमा सुरक्षित रहेका छन्। अनुसन्धानका क्रममा यो परिवारको यसअघि कुनै आपराधिक पृष्ठभूमि वा प्रहरीमा उजुरी नभएको पाइएको छ। आफ्नै परिवारका सदस्यहरूको ज्यान लिने गरी भएको यस दुःखद हिंसाको वास्तविक कारणबारे स्थानीय प्रहरीले अहिले गहन अनुसन्धान गरिरहेको छ। प्रहरीले घटनाबारे जानकारी दिन नजिकका आफन्तहरुको खोजी गरिरहेको छ । समाचार स्रोत खसोखास डट कम

प्रतिक्रिया