पोखरा १२ फागुन २०८२।
आचारसंहिता विपरीत बजाइएको भन्दै डिजे र पिकअप प्रहरीले नियन्त्रणमा लिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सहितको समूहले प्रहरीलाई धम्क्याएका छन्।
डिजे र पिकअप नियन्त्रणमा लिएपछि आक्रोशित बनेका सिरहा-४ का रास्वपाका प्रतिनिधि सभा उम्मेदवार तपेश्वर यादवसहित एक समूहले इलाका प्रहरी कार्यालय, मिर्चैयाको गेटमा पुगेर हुलहुज्जत गर्दै प्रहरीलाई धम्क्याएका हुन् ।
प्रहरीका अनुसार निर्वाचन आचारसंहिता, २०८२ विपरीत आइतबार बेलुकी मिर्चैया बजार क्षेत्रमा चर्को आवाजमा गीत तथा जिंगल बजाउँदै प्रचारप्रसार गरिरहेको पाइएपछि डिजे र पिकअप भ्यानसहित चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यस लगत्तै प्रतिनिधिसभा उम्मेदवार यादव हूलसहित प्रहरी कार्यालय पुगेका थिए ।
उनीहरू प्रहरीलाई तथानाम भन्दै कार्यालयभित्रै छिर्न खोजे पनि प्रहरीले गेटमै रोकेको थियो । त्यस क्रममा उम्मेदवार यादवले प्रहरी कर्मचारीहरूलाई हुलहुज्जत गर्दै व्यक्तिगत तहमा उत्रिएर ‘देखाइदिने’लगायतका धम्की दिएका हुन् । प्रहरी कार्यालय अगाडीको हुलहुज्जतको भिडियो सामाजिक सञ्जालमा पनि भाइरल बनेको छ ।
यता, उम्मेदवार यादवले प्रहरीले आफूहरूको ब्यानर, पर्चा हटाइदिएको र डिजे नियन्त्रणमा लिएको जानकारीपछि आफूहरू त्यहाँ पुगेको भए पनि दुर्व्यवहार नगरेको दाबी गरेका छन् । उनले रास्वपा लक्षित केर प्रहरीले गरिरहेको आरोप समेत लगाए ।यसरी आचारसंहिता उल्लंघन गर्ने विभिन्न पार्टीका ८ वटा डिजे र पिकअपलाई यसअघि नै कारबाही गरिएको प्रहरीले जनाएको छ ।