पोखरा ११ फागुन २०८२।
वीरगञ्जमा तनावपछि कर्फ्यु जारी रहँदा रौतहटको सदरमुकाम गौरमा सामाजिक सद्भाव कायम गर्न भन्दै सोमबार बिहान ‘सद्भाव र्याली’ निकालिएको छ।
सामाजिक सद्भाव बिथोल्ने गरी केही दिनअघि भएका झडप र तोडफोडका घटनापछि बिग्रिएको वातावरण सुधार्न स्थानीय प्रशासन र नागरिक समाजले रौतहट सदरमुकाम गौरमा आज बिहान सर्वपक्षीय सद्भाव र्याली निकालिएको हो। सर्वपक्षीय सद्भाव र्याली निकालिएसंगै जनजीवन सामान्य बन्दै गएको छ। कर्फ्यु हटेपछि बजार, यातायात र शैक्षिक संस्थाहरू पुनः सञ्चालन हुन थालेका छन्।
यता सामाजिक सद्भाव बिग्रिन नदिन र शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन जिल्ला प्रशासन कार्यालय पर्साले पर्सा सदरमुकाम बीरगंजमा अनिश्चितकालिन कर्फ्यु आदेश लगाई रहेको छ।
राैतहटमा के भएको हो?
केही दिनअघि गाैर र आसपासका क्षेत्रमा दुई समुदायबीच उत्पन्न विवादले हिंसात्मक रूप लिएपछि प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको थियो। स्थिति नियन्त्रण बाहिर जान नदिन गौरमा कर्फ्यु लगाएको थियो। गाैरभन्दा केही परको छिमेकी सहर वीरगञ्जमा आज सोमबार निषेधाज्ञा र कर्फ्यु जारी छ।
सोमबार बिहान गौर नगरपालिका–६ सव्गढाहाबाट भएको सद्भाव र्यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको छ। र्यालीमा हिन्दू र मुस्लिम दुवै समुदायका धर्मगुरु, स्थानीय जनप्रतिनिधि, नागरिक समाज र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति छ। सहभागीहरूले आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकता कायम राख्न अपिल गर्दै प्लेकार्डहरू प्रदर्शन गरेका छन्।
सद्भाव र्यालीलाई सम्बोधन गर्दै रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले भन्नुभयो, “सबै पक्षलाई संयमित र जिम्मेवार व्यवहार गर्न र शान्ति सुरक्षा कायम गर्न सहयोग गर्न म आग्रह गर्दछु ।”
कर्फ्यु हटाइए पनि प्रशासनले सम्भावित उत्तेजनालाई ध्यान दिँदै उच्च सतर्कता अपनाएको छ। प्रमुख जिल्ला अधिकारी भुसालले कुनै पनि प्रकारका अफवाह र उत्तेजनात्मक गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई सचेत गराए।
यता आइतबार साँझ सवारी पार्किङको विषयमा भएको झगडापछि उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु आदेश जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्सा ले आज बिहान ९:४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लागू गरेको हो। प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम वीरगन्ज महानगरपालिकाको तोकिएको क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा–बैठक लगायतका गतिविधिमा पूर्ण रोक लगाइएको छ ।
प्रशासनका अनुसार हिजो साँझ पार्किङ व्यवस्थापनको विषयमा दुई पक्षबीच भएको विवादले झगडाको रूप लिएको थियो । सो घटनापछि बजार क्षेत्रमा तनाव बढ्ने संकेत देखिएकाले सम्भावित अप्रिय घटना रोक्न कर्फ्यु जारी गरिएको हो ।
यद्यपि, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पूर्वनिर्धारित परीक्षा दिन जाने परीक्षार्थी, पर्यटक तथा कूटनीतिक नियोगका सवारीसाधनलाई भने सुरक्षा निकायको समन्वयमा आवतजावतमा सहजीकरण गरिने प्रशासनले जनाएको छ ।
प्रशासनले सर्वसाधारणलाई अफवाहमा नलाग्न, शान्ति कायम गर्न सहयोग गर्न तथा कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ ।