रौतहटमा तनाब : आज बिहान दुई घण्टा कर्फ्यु केही खुकुलो, त्यसपछि फेरि कर्फ्यु निरन्तर

रौतहटमा तनाब : आज बिहान दुई घण्टा कर्फ्यु केही खुकुलो, त्यसपछि फेरि कर्फ्यु निरन्तर


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १० फाल्गुन २०८२
  • 6.6K
    Shares

रौतहटको गौरमा कर्फ्यु

पोखरा, १० फागुन २०८२ ।

जिल्ला प्रशासन कार्यालय रौतहटले आज बिहान दुई घण्टा अत्यावश्यक सामान किन्न कर्फ्यु खुलाएर फेरि कर्फ्युलाई निरन्तरता दिने घोषणा गरेको छ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले शनिबार साँझ नयाँ सूचना निकालेर आज आइतबार बिहान अत्यावश्यक कार्यका लागि बिहान साढे ६ बजेपछि साढे ८ बजेसम्म कर्फ्यु खुकुलो गरी त्यस लगत्तै कर्फ्यु आदेश निरन्तरता दिइने घोषणा गरेका छन् ।

सूचनाअनुसार, कर्फ्यु खुकुलो गरिएको अवधि बिहान साढे छ साढे आठ बजेसम्म पनि कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने प्रशासनले स्पष्ट गरेको छ । फेरि बिहान साढे ८ बजेदेखि नै अर्को आदेश जारी नभएसम्म पुन: कर्फ्यु लागू रहने सूचनामा उल्लेख छ । कर्फ्यु आदेश उल्लंघन गर्ने व्यक्तिलाई कानुनबमोजिम कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ ।

कर्फ्यु लागू हुने क्षेत्रमा पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बसपार्क क्षेत्र र दक्षिणमा गौर भन्सार कार्यालय कायम गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई शान्ति सुरक्षा कायम गर्न सहयोग गर्न आग्रह गरेको छ ।

शनिबार बिहान गौर नगरपालिका–६ स्थित सनगडा गाउँमा मुस्लिम समुदायले प्रार्थना गरिरहेका बेला हिन्दू समुदायले बाजा बजाएको भन्दै विवाद सिर्जना भएको थियो । उक्त विवाद भड्किएर हिंसात्मक रूप लिँदै झडपमा परिणत भएको थियो ।

विवाद गौरका अन्य वडाहरूसम्म विस्तार भएको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायरदेखि अश्रुग्यास प्रहार गर्नुपरेको थियो । प्रदर्शनकारीले ६ वटा मोटरसाइकल र २ जिपमै आगजनी गरेका थिए । पछि प्रशासनले दिउँसो १ बजेबाट कर्फ्यु लगाएर सेना परिचालन गरी स्थिति साम्य पारेको थियो ।

यता केन्द्रीय सुरक्षा समितिको शनिबार साँझ बसेको बैठकले रौतहटमा भएको घटनाको सन्दर्भमा सबै पक्षलाई आपसी सद्भाव कायम गर्न आह्वान गरेको छ । साथै रौतहटको समग्र सुरक्षा व्यवस्था सुदृढ बनाउन सम्बन्धित सबै सुरक्षा संयन्त्रलाई आवश्यक निर्देशन दिइएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया