पोखरा, ७ फागुन २०८२ ।
आफ्नो क्षेत्रमा आएर भोट मागेको भन्दै बिप्लव नेतृत्वको माओवादीका उम्मेदवारलाई कुटेको आरोपमा नवलपरासीबाट राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता पक्राउ परेका छन्।
विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) नवलपरासी निर्वाचन् क्षेत्र नम्बर १ का उम्मेदवार राजु हरिजन र उनका कार्यकर्तामाथि कुटपिट गरेको आरोपमा बर्दघाट नगरपालिका-१३ का ३१ वर्षीय अजय गौतम पक्राउ परेका हुन्।
प्राप्त जानकारी अनुसार , नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले बुधबार बर्दघाट नगरपालिका-१२ स्थित जमुनिया बजारमा चुनावी प्रचारप्रसार कार्यक्रम गरिरहेको बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरू पुगेका थिए। उनीहरूले ‘रास्वपाको क्षेत्रमा प्रचार गर्न आएको’ भन्दै माओवादी उम्मेदवार राजुप्रसाद हरिजनसहित कार्यकर्ताहरूमाथि कुटपिट गरेका थिए ।
रास्वपाका कार्यकर्ताको कुटपिटबाट उम्मेदवार राजुप्रसाद हरिजन, क्षेत्रीय प्रचारप्रसार सहसंयोजक निरज पाठक, जिल्ला सदस्य नकुल सी र बर्दघाट नगर इन्चार्ज गणेश पाण्डे घाइते भएका थिए । उम्मेदवार हरिजनले ‘घण्टीको एरियामा आएर प्रचार गरेको’भन्दै कुटपिट भएको बताएका छन् ।
बुधबार जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी वीरदत्त पन्तका अनुसार तीन जना युवा आएर होहल्ला गर्दै उम्मेदवारमाथि हातपात गरेका थिए । कुटपिट गरेको आरोपमा बर्दघाट नगरपालिका वडा नम्बर १३ का २१ वर्षीय अजय गौतमलाई पक्राउ परेका हुन् । सोही घटनामा दुई जना भने फरार रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका गौतम लाई अभद्र व्यवहार तथा कुटपिट गरेको आरोपमा अनुसन्धान अगाडि बढाइएको छ ।
रास्वपाको क्षेत्रमा आएर किन भोट मागेको भन्दै कुटपिट गरिएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले जनाएको छ ।