आसन्न चुनाबको बिपक्षमा पूर्वराजा ज्ञानेन्द्र : सर्वपक्षीय सहमति गरेर मात्र चुनाबमा जान सुझाब

आसन्न चुनाबको बिपक्षमा पूर्वराजा ज्ञानेन्द्र : सर्वपक्षीय सहमति गरेर मात्र चुनाबमा जान सुझाब


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ६ फाल्गुन २०८२
  • 5.5K
    Shares

पुर्वराजा ज्ञानेन्द्र

पोखरा, ६ फागुन २०८२।

आसन्न चुनाबको बिरुद्ध आवाज उठाउने राजनीतिक पार्टी र तिनका नेताहरुलाई सरकारले गिरफ्तार गरिरहेका बेला पूर्व राजा ज्ञानेन्द्र शाह पनि आसन्न चुनाबको बिपक्षमा देखिएका छन्।

७५ औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा बुधबार एक भिडियो सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले आसन्न चुनाबको बिपक्षमा आफ्नो अभिव्यक्ति दिएका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति टिप्पणी गर्दै अबको बाटो राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन्। उनले हालको व्यवस्था र राजनीतिक नेतृत्वको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहले सबै पक्षबीच सहमति गरेर मात्र निर्वाचनमा जान उपयुक्त हुने बताएका छन् । आगामी निर्वाचनले नेपालका सबै समस्या समाधान गर्न नसक्ने उल्लेख गर्दै पूर्वराजा ज्ञानेन्द्रले अहिलेकै विषम परिस्थितिमा राष्ट्रिय समस्या समाधान नगरी चुनावमा जानु उचित नहुने धारणा समेत राखेका छन् । उनले सबै पक्षबीच सहमति गरेर चुनावमा जानु उपयुक्त हुने उल्लेख गर्दै फागुन २१ गतेका लागि निर्धारित निर्वाचन सार्न सरकारसँग परोक्षरूपमा आग्रह गरेका छन्।

पूर्वराजाले प्रजातन्त्र प्राप्तिका लागि राजा र जनता मिलेर गरेको २००७ सालको क्रान्तिको स्मरण गर्दै राष्ट्रपिता श्री ५ त्रिभुवन र सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। तर, दशकौंदेखिको परिवर्तनले आम नागरिकको जीवनमा उल्लेख्य सुधार ल्याउन नसकेको उनको ठम्याइ छ।

राजनीतिक नेतृत्वलाई लक्षित गर्दै पूर्वराजाले भनेका छन्, ‘मुलुक यतिबेला अस्वाभाविक छटपटीको भुमरीमा फसेको छ। यस्तो दुःखद परिस्थितिमा आलोपालो भाग लगाएर खाउँ भन्ने सोचले होइन, सबै मिलेर काम गरौँ भन्ने कर्तव्यबोधले मात्र मुलुकलाई नयाँ गति दिन सक्छ।’

उनले अधिकार मात्र खोज्ने तर कर्तव्य नसोच्ने प्रवृत्तिका कारण देश इतिहासकै कठिन र दर्दनाक स्थितिमा पुगेको दाबी गरे।

विगतमा भएका विभिन्न आन्दोलन र संघर्षहरूको सन्दर्भ उठाउँदै उनले ती परिवर्तनहरूले नेपाल र नेपालीलाई वास्तवमा के दियो भन्नेबारे अब आत्मा-समीक्षा गर्ने बेला आएको बताए।

‘देशको अस्मिता र अस्तित्व नै संकटमा परेको हरेक देशभक्त नेपालीले महसुस गरिरहेका छन्,’ उनले सन्देशमा भनेका छन्, ‘हाम्रो शत्रु विपन्नता र अस्थिरता हो, तर हामी एउटा नेपालीले अर्को नेपालीलाई वैरी ठान्ने अवाञ्छित संस्कृतिमा रुमल्लिरहेका छौँ।’

मुलुक अस्वाभाविक छटपटीको भुमरीमा फसेको टिप्पणी गर्दै पूर्वराजा शाहले जुनसुकै व्यवस्थाका पनि राम्रा पक्षलाई लिनुपर्ने तर खराब पक्षलाई त्याग्नुपर्नेमा जोड दिए ।

८ मिनेट लामो भिडियो सन्देशमा पूर्वराजा शाहले भनेका छन्, ‘देशको अस्तित्व र अस्मिता नै संकटमा परेको महसुस भएको छ, संघर्षको आडमा गरिएका परिवर्तनले नेपाल र नेपालीलाई के दियो भन्ने आत्मसमीक्षा गर्नुपर्ने समय अहिले आएको छ।’

प्रतिक्रिया