महासचिव बास्तोला पक्राउप्रति नेकपा (बहुमत)को आपत्ति : तत्काल रिहा गर्न माग

महासचिव बास्तोला पक्राउप्रति नेकपा (बहुमत)को आपत्ति : तत्काल रिहा गर्न माग


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ६ फाल्गुन २०८२
  • 4.1K
    Shares

पोखरा, ६ फागुन २०८२।

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले महासचिव धर्मेन्द्र बास्तोलाको पक्राउप्रति आपत्ति जनाउँदै तत्काल रिहा गर्न माग गरेको छ ।

पार्टीले मंगलबार राति प्रेस वक्तव्य जारी गर्दै पक्राउ परेका बास्तोलासहति पक्राउ परेका नेताहरूलाई तत्काल रिहा गर्न माग गरेको हो । 

जारी वक्तव्यमा महासचिव बास्तोला र काभ्रे जिल्ला सेक्रेटरी विष्णु तिमिल्सिनालाई संगठनात्मक कामकै क्रममा साँझ काठमाडौँको खिचापोखरीस्थित टेबहालबाट गिरफ्तार गरिएको उल्लेख गरिएको छ ।

वक्तव्यमा भनिएको छ, ‘हाम्रो पार्टीका महासचिव कमरेड धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र काभ्रे जिल्ला सेक्रेटरी कमरेड विष्णु तिमिल्सिनालाई संगठनात्मक कामको सिलसिलामा भएको बेला आज मिति २०८२ फागुन ५ गते करिब ५ः४० बजे काठमाण्डौंको खिचापोखरी स्थित टेबहालबाट वर्तमान सरकारले गिरफ्तार गरेको छ । आजै देशव्यापी नेपाल बन्दको कार्यक्रम शान्तिपूर्णरुपमा र जनताको भरपुर सहयोगकासाथ सम्पन्न भए लगतै साँझको समयमा अत्यन्त कायरतापूर्ण शैलीमा गरिएको गिरफ्‌तारीप्रति पार्टी घोर भर्त्सना गर्दछ ।’

पार्टीले चुनावको विरोधका क्रममा गरिएको गिरफ्तारीलाई न्यूनतम लोकतान्त्रिक अधिकारको उपहास भन्दै संवाद र सहमति विपरीत कदम भएको टिप्पणी गरेको छ ।

साथै मानवअधिकारवादी संघ–संस्थालाई रिहाइका लागि पहल गर्न अपिल समेत गरेको छ ।

प्रतिक्रिया