पोखरा, ६ फागुन २०८२।
नवलपरासीमा विप्लव नेतृत्वको नेकपा माओवादीका उम्मेदवारमाथि कुटपिट भएको छ। फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका राजु हरिजनमाथि कुटपिट भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले निर्वाचन प्रचारप्रसारको क्रममा बर्दघाट नगरपालिका–जमुनियामा मतदाता भेटघाट गर्दै हिँडेका हरिजनमाथि कुटपिट भएको बताए।
निर्वाचन प्रचारप्रसारका लागि गाडीमा माइकिङ गर्दै गएका हरिजनमाथि दुई जना युवाले हातपात गरेको भिडिओ समेत सार्वजनिक भएको छ। उनीहरूले सो स्थान आफूहरूको एरिया भएको र प्रचारप्रसार नगर्न भन्दै कुटपिट गरेको हरिजनले प्रहरीसमक्ष बताएका छन्।