पोखरा, १० पुष २०८२।
विराटनगरमा आज एकाबिहानै भएको मोटरसाइकल दुर्घटनामा परेर नेपाली क्रिकेटका राष्ट्रिय खेलाडी मिनष थापाको मृत्यु भएको छ।
विराटनगर–४ स्थित भित्री सडक खण्ड हुँदै एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल गएको बिहान राति करिब पौने १ बजेतिर अनियन्त्रित भएर दुर्घटनाग्रस्त हुँदा नेपाली क्रिकेटका राष्ट्रिय खेलाडी थापाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए। थापा विराटनगर महानगरपालिका–५ निवासी हुन् र होराईजन क्रिकेट क्लब विराटनगरमा आबद्ध थिए।
क्रिकेटका राष्ट्रिय खेलाडी थापा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्दै नौ वर्षभन्दा लामो समयदेखि खेलिरहेका थिए। ब्याट्सम्यान उनले केही फ्रेन्चआई लिगसमेत खेलिसकेको परिवारले जनाएको छ।
राष्ट्रिय खेलाडीको निधनले परिवार, आफन्त र क्रिकेट प्रेमीलाई स्तब्ध बनाएको छ। परिवारका अनुसार मृतक थापाका बुवा करिब डेढ दशकदेखि बेपत्ता छन्। उनी आमा तनुजा थापा र भाइ प्रदीप थापासँगै बस्थे।
एसपी कटवालले मोटरसाइकल नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए। शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।