पोखरा, २४ मङ्सिर २०८२।
रुसी उपविदेशमन्त्री सेर्गेइ र्याबकोभले आइतबार अमेरिकालाई भेनेजुएलासँग कुनै पनि प्रकारको पूर्ण द्वन्द्वमा नउत्रन कडा चेतावनी दिएका छन्। उनले भेनेजुएलामा बढ्दो तनावप्रति गम्भीर चासो व्यक्त गर्दै मस्को स्पष्ट रूपमा काराकासको नेतृत्वको पक्षमा रहेको बताएका छन्।
र्याबकोभका अनुसार भेनेजुएलामा देखिएको राजनीतिक–सुरक्षात्मक तनाव अमेरिकी प्रभाव विस्तारको रणनीतिसँग जोडिएको छ। उनले भने, “भेनेजुएला विवाद वाशिङ्टनले क्षेत्रीय प्रभुत्व कायम गर्न खोजेको प्रयाससँग गहिरो सम्बन्ध राख्छ। यो ट्रम्प प्रशासनको पहिचानजस्तै छ।”
हालै रुस र भेनेजुएलाबीच रणनीतिक साझेदारी तथा सहयोगसम्बन्धी सम्झौता सम्पन्न भएको उल्लेख गर्दै र्याबकोभले थपे, “हामी भेनेजुएलाको साथमा छौँ, र भेनेजुएला पनि हाम्रो साथमा छ। यो कठिन समयमा हामी दुवै देशका नेतृत्वहरू काँधमा काँध मिलाएर उभिएका छौँ।”
अमेरिकाले पछिल्ला हप्ताहरूमा क्यारेबियन सागरमा आफ्नो सैन्य उपस्थिति उल्लेख्य रूपमा बढाएको पृष्ठभूमिमा रुसले यस्तो चेतावनी दिएको हो। पेन्टागनका अनुसार सेप्टेम्बर २ पछि क्यारेबियन र पूर्वी प्रशान्त क्षेत्रमा लागुऔषध ढुवानी गर्ने जहाजहरूलाई लक्ष्य गर्दै कम्तीमा २२ पटक सैन्य अाक्रमण गरिएका छन्, जसमा ८७ जनाभन्दा बढीको मृत्यु भएको छ।
र्याबकोभले ट्रम्प प्रशासनलाई परिस्थिति झन् बिग्रिने कार्य नगर्न आग्रह गर्दै भने, “स्थिति तीव्र नबनाओस्, अमेरिकाले संयमता अपनाओस्।”
रुसको यस कडा प्रतिक्रिया बाह्य शक्तिहरूबीच भेनेजुएला मुद्दालाई लिएर बढ्दो प्रतिस्पर्धा झनै तीव्र भएको संकेतका रूपमा हेरिएको छ।