चितवन जिल्ला कारागारमा सुत्ने ठाउँ अभाव : ३० जना बन्दी त्रिपालमुनि राख्नुपर्ने बाध्यता

चितवन जिल्ला कारागारमा सुत्ने ठाउँ अभाव : ३० जना बन्दी त्रिपालमुनि राख्नुपर्ने बाध्यता


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २० मंसिर २०८२
  • 1.7K
    Shares

चितवन जिल्ला कारागार

पोखरा २० मङसीर २०८२।

चितवन जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा त्रिपालमुनि राख्नुपर्ने बाध्यता रहेको छ । कैदीबन्दीमध्ये ३० जना त्रिपालमुनि राख्नुपरेको छ । भवनभित्र सुत्ने ठाउँ अभाव भएपछि उनीहरु त्रिपालमुनि रात बिताउन बाध्य भएका हुन् ।

जेनजी आन्दोलनपछि भागेर फर्किएका कैदीबन्दीमध्ये ४६ जनालाई स्थानान्तरण गर्दा भित्र कोठामा ठाउँ नपुग्दा उनीहरुलाई त्रिपालमुनि राख्न बाध्य भएको हो ।

कारागार कार्यालयका प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाका अनुसार भवनभित्र ठाउँ नपुगेपछि अहिले दुई ठाउँमा १५ जनाका दरले त्रिपालमुनि राखिएको छ । कैदीबन्दीको चाप बढेसँगै राख्ने ठाउँको अभावका कारण उनीहरुलाई त्रिपालमुनि राख्नुपरेको हो ।

विगतमा पनि कैदीबन्दी त्रिपालमुनि बस्नुपर्ने अवस्था रहेको बताउँदै उनले गत आर्थिक वर्षमा केही ठाउँजस्ता हालेर बनाइएको जानकारी दिए । चिसो र गर्मीको समयमा त्रिपालमुनि बस्न कैदीबन्दीलाई समस्या हुने गरेको उनले बताए। उनले भने, “भित्र बस्ने ठाउँ प्रयाप्त छैन, त्रिपालमुनि राख्नुपरेको छ, चिसोका कारण बिरामी हुन्छनकी भन्ने डर छ ।”

यस वर्ष त्रिपाल रहेको ठाउँमासमेत जस्ता हाल्ने योजना रहेको उनले बताए । यस कार्यालयमा हाल ६३० कैदीबन्दी रहेका छन् । यहाँ ५९३ पुरुष र ३७ महिला रहेका छन् । उनीहरुसँग दुई जना आश्रितसमेत रहेका छन् ।

कारागारको क्षमता ३० महिला र ४७५ पुरुषको रहेको छ । गत भदौ २५ गते भागेका ७४३ कैदीबन्दी फर्कनेक्रम जारी रहेको छ । भागेकामध्ये अझै ११३ कैदीबन्दी फर्कन बाँकी छन् । त्यसमा दुई बालबालिकासमेत रहेका छन् । उनीहरु फर्किएपछि थप कैदीबन्दी त्रिपालमुनि राख्नुपर्ने बाध्यता हुन्छ ।

प्रतिक्रिया