काठमाडौँ, १७ मङ्सिर २०८२।
काठमाडौँको केशरमहलमा भएको कार दुर्घटनामा मृत्यु भएका पुरुषको पहिचान खुलेको छ।
दक्षिण गेटतर्फबाट केशरमहलतर्फ जाँदै गरेको बा. प्र.०१–०३० च २३४८ नम्बरको नेटा इभी कारले केशरमहल चोकमा ठक्कर दिंदा मृत्यु भएका युवा सडककिनारमा पैदल हिँडिरहेका ३४ वर्षीय भारतीय शेख साकिर रहेको प्रहरीले जानकारी दिएको छ।
काठमाडौँको धोबीचौरमा बस्दै आएका साकिर नेपालमा विगत १० वर्षदेखि घर निर्माणको काममा संलग्न थिए। उनको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो।
सोही दुर्घटनामा परेर ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत ट्राफिक हवल्दार पशुराम ठाकुर र कार चालक काठमाडौं महानगरपालिका–१६ बस्ने ६६ वर्षीय सुरेश राज कालिका घाइते भएका छन्। घाइतेहरूलाई ट्रमा सेन्टर लगिएको र ट्राफिक हवल्दारलाई पछि प्रहरी अस्पताल रेफर गरिएको छ।
घाइतेमध्ये ट्राफिकको दुवै खुट्टा र छातीमा चोट लागेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका एसपी नरेशराज सुवेदीले बताए ।
कारले दुई जनालाई ठक्कर दिएर केशरमहलको पर्खालमा ठोक्किएको थियो। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।