पोखरा, १६ मङ्सिर २०८२।
घरमा प्रयोग हुने पानी तान्ने मोटर चोरी गरेर साइकलमा भारततर्फ लैजाँदै गर्दा नेपाल – भारत सीमावर्ती झापा गाउँपालिकाबाट एक जना युवा पक्राउ परेका छन्।
झापा गाउँपालिकामा आज विहान मात्र सशस्त्र प्रहरी बल नेपाल बिओपी टाँघनडुब्बाबाट खटिएको टोली र इलाका प्रहरी कार्यालय कुमरखोदको संयुक्त गस्ती टोलीले आज बिहान ६ः५० बजे झापा गाउँपालिका–४ चौधरी बस्ती नजिकै चोरीको मोटरसहित कनकाई नगरपालिका–४, सुरुङ्गा निवासी २७ वर्षीयअशोक मगरलाई पक्राउ गरेको हो ।
उनीमाथि शंका लागेर चेक जाँच गर्दा उनले मोटर चोरी गरेको पुष्टि भएको थियो । मोटरसहित नियन्त्रणमा लिएर मगरलाई आवश्यक कारबाहीको लागि पठाइएको छ ।मगरले साइकलमा पानी तान्ने मोटर भारत सीमा दिशातर्फ लैजाँदै गरेको अवस्थामा शंका लागेपछि प्रहरीको टोलीले उनलाई रोक्दै चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा मोटर चोरीको भएको पुष्टि भएपछि सशस्त्र प्रहरी हवल्दार गणेशबहादुर गुरुङको कमाण्डमा ५ जना र प्रहरी सहायक निरीक्षक दिनेशकुमार माझी नेतृत्वको ५ सदस्यीय टोलीले मगरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेको छ ।
झापा गाउँपालिकामा यतिबेला चोरीका घटनाहरू निरन्तर बढिरहेका छन्। चार दिनअघि मात्रै झापा गाउँपालिका–३ कामाटोली बजार नजिकै विनिताकुमारी गणेशको घरमा दुई तोला सुन, २२ तोला चाँदी र नगद २ हजार ५०० रुपैयाँ चोरी भएको घटनाले स्थानीयमा थप असुरक्षा बढाएको छ।