हङकङमा भिषण आगलागी : ३६ जनाको मृत्यु, दुईसय ७९ बेपत्ता

हङकङमा भिषण आगलागी : ३६ जनाको मृत्यु, दुईसय ७९ बेपत्ता


  • एजेन्सीहरु
  • बिहिबार, ११ मंसिर २०८२
  • 2.8K
    Shares

पोखरा ११ मङ्सिर २०८२।

हङकङको ताईपोमा भएको भीषण आगलागीमा परेर ३६ जनाको मृत्यु भएको छ भने दुई सय ७९ जना बेपत्ता रहेका छन्।

बाँसको स्काफोल्डिङलाई हरियो जालीले ढाकेर जुलाई २०२४ देखि आठ आवासीय ब्लकको मर्मतसम्भार भइररहेको थियो। मर्मत सम्भार भइरहेका ती भवनमा स्टाइरोफोम पदार्थ फेला परेकोले आगो द्रुत गतिमा फैलिएको अधिकारीहरूले बताएका छन्। बुधबार दिउँसोबाट सुरु भएको आगलागी झन्डै १० घण्टापछि बिहीबार बिहान नियन्त्रणमा आएको छ।

स्थानीय मिडियाहरूमा उल्लेख गरिएअनुसार उक्त भीषण आगलागीमा परेर ३६ जनाको मृत्यु भएको छ भने दुई सय ७९ जना बेपत्ता रहेका छन्। आगलागीमा परेर घाइते भएका २९ जनालाई अस्पताल भर्ना गरिएको छ। जसमध्ये सात जनाको अवस्था गम्भीर छ।

आगलागीमा परेका सात भवनमध्ये तीन वटामा ठूलो क्षति पुगेको छ। हङकङ समय बिहीबार बिहान ३ बजेसम्मको विवरणअनुसार ९०० बढी बासिन्दालाई सामुदायिक हलहरूमा आश्रय दिइएको छ।

अप्रत्याशित र विपत्तिजन्य घटना घटेपछि शातिनस्थित प्रिन्स अफ वेल्स अस्पतालमा राति नै पत्रकार सम्मेलनमार्फत घटना विवरणबारे जानकारी गराएका हङकङका प्रमुख कार्यकारी जोन लीले आगलागीलाई ठूलो विपत्ति भनेका छन्। साथै, सहरमा डिसेम्बर ७ का लागि तोकिएको संसद्‌को चुनावी गतिविधि अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ।

यसअघि, राष्ट्रपति सी जिनपिङले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै घटनाबारे दु:ख व्यक्त गरेका थिए। चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीले जनाएअनुसार राष्ट्रपति सीले हताहती र क्षतिलाई सकेसम्म न्यूनीकरण गर्न आह्वान गरेका थिए।

आगलागी बुधबार दिउँसो २:५१ बजे सुरु भएको प्रहरीले जनाएको छ। त्यसको केही समयमै वाङफुक कोर्टमा रहेको घटनास्थलबाट धुवाँको मुस्लो निस्किएको थियो भने आगो द्रुत गतिमा स्टेटको आठ ब्लकमध्ये सात वटामा फैलिएको थियो।

सुरुमा नम्बर १ अलार्म फायरको रूपमा वर्गीकृत गरिएको आगलागी तुरुन्तै दिउँसो ३:३४ बजे नम्बर ४ र त्यसपछि साँझ ६:२२ बजे शीर्ष तह ५ मा वर्गीकरण गरिएको थियो। हङकङमा आगलागीलाई एकदेखि पाँचसम्मको स्केलमा वर्गीकरण गरिन्छ। उच्च संख्याले बढी गम्भीरतालाई जनाउँछ।

प्रतिक्रिया