पोखरा, ४ असोज २०८२।
अबुधाबीमा सम्पन्न एसिया कप टी-२० को अन्तिम समूह चरणको खेलमा ओमान भारतसँग २१ रनले पराजित बनेकाे छ।
पहिले ब्याटिङ गर्दै भारतले २० ओभरमा ८ विकेट गुमाएर १८८ रन बनाएको थियो। भारतका लागि पावरप्लेमा अभिषेक शर्माले १५ बलमा ३८ रनको तुफानी इनिङ खेलेका थिए। उनले पाँच चौका र दुई छक्का प्रहार गर्दै भारतलाई पहिलो छ ओभरमा ६० रनको बलियो सुरुवात दिलाए।
सञ्जु सामसनले पनि सुस्त गतिमा सुरुवात गरे तापनि अन्ततः ४१ बलमा अर्धशतक पुरा गरे। तर १८औँ ओभरमा उनी आउट भएपछि भारतले अन्तिम तीन ओभरमा केवल २१ रन मात्रै जोड्न सक्यो।
ओमानतर्फ फैसल शाह, जितेन रमनन्दी र आमिर कलीम समान दुई-दुई विकेट लिएका लिएका थिए।
जवाफमा ओमानले २० ओभरमा ४ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो। कप्तान जतिन्द्र सिंहले ३२ (३३), आमिर कलीमले ६४ (४६) र हम्माद मिर्जाले ५१ (३३) रन बनाए पनि टोलीलाई लक्ष्य नजिक पुर्याउन सकेनन्।
भारतका बलरमध्ये हार्दिक पाण्ड्या, अर्शदीप सिंह, हरसित राना र कुलदीप यादवले समान एक-एक विकेट लिएका थिए।