पोखरा, २९ जेठ २०८२।
दुई सय ४२ जना यात्रु बोकेर भारतको अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको उडान बिहीबार दिउँसो भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै मेघनीनगरमा दुर्घटनाग्रस्त भएको छ।
एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनरउक्त विमानमा चालक दलसहित २४२ यात्रु सवार थिए र अहमदाबाद विमानस्थलबाट टेकअफको क्रममा विमानस्थलको सीमा नजिकै दुर्घटनाग्रस्त भएको थियो । विमानस्थल क्याम्पससँगै रहेको एयर कस्टम कार्गो कार्यालय नजिकै विमान दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।
एयर इन्डियाले आफ्नो एक्स अकाउन्टमा दुर्घटनाको पुष्टि गर्दै लेखेको छ, ‘अहमदाबाद-लन्डन गेटविक उडान गर्ने उडान नम्बर एआई१७१ आज, १२ जुन २०२५ मा दुर्घटनामा परेको छ।’ उक्त विमानमा ६९ भारतीय, ५३ बेलायती, १ क्यानाडाका र ७ पोर्चुगलका नागरिक यात्रारत थिए । एयरलाइन्सले थप जानकारी सङ्कलन गर्ने प्रयास गरिरहेको र सकेसम्म चाँडो थप अपडेटहरू साझा गर्ने बताएको छ।
विमान खस्ने बित्तिकै सम्पूर्ण क्षेत्रमा धुवाँको मुस्लो देखिएको थियो । दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेको छ भने ७ वटा दमकल र एम्बुलेन्स पनि दुर्घटनास्थलमा पुगेका छन्। उद्धार कार्य सुरु गरिएको छ। एनडीआरएफका २ वटा टोली पनि उद्धार कार्यमा संलग्न छन्।
गृहमन्त्री अमित शाहले विमान दुर्घटनाबारे गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल र प्रहरी आयुक्तसँग छलफल गरेका छन्। केन्द्र सरकारबाट उनलाई सबै सम्भव सहयोगको आश्वासन दिइएको छ।
भारतीय सञ्चारमाध्यम न्यूज २४ अनलाइनका अनुसार दुर्घटनामा परेको विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेको खबर छ।