पोखरा, २६ जेठ २०८२।
राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा कागजात नभएका आप्रवासीहरूमाथि ब्यापक गिरफ्तारी हुन थाले पछि अमेरिकाको लस एन्जलसमा ब्यापक प्रदर्शन भएको छ।
शनिवार क्यालिफोर्नियाको लस एन्जलस शहरको प्यारामाउन्ट क्षेत्रमा ल्याटिनो समुदायका सदस्यहरू र अमेरिकी आप्रवासन एजेन्सी (आईसीई) का अधिकारीहरूबीच झडप भएको थियो । त्यसपछि प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्याससँगै लाठीचार्ज गरेको थियो । अहिले प्यारामाउन्टको वातावरण अलि शान्त भएको तर प्रदर्शनकारी र प्रहरीबीच झडप भइरहेको बीबीसीले जनाएको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलसमा भइरहेको विरोध प्रदर्शन रोक्न राष्ट्रिय गार्ड सेना तैनाथ गर्न आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले लस एन्जलसमा दुई हजारको सङ्ख्यामा राष्ट्रिय गार्ड पठाउन आदेश दिएको बीबीसीले जनाएको छ । ट्रम्पका सीमा सल्लाहकार टम होमनले आफूहरू लस एन्जलसलाई सुरक्षित बनाउन लागिपरेको फक्स न्युजसँग बताए ।
शनिवार गभर्नर न्युसमले अमेरिकी राष्ट्रपति ट्रम्पसँग झन्डै ४० मिनेट फोनमा कुराकानी गरेका छन्। तर उक्त कुराकानीका कुनै विवरण सार्वजनिक नभएको खबरमा उल्लेख छ ।यद्यपि यसपछि ट्रम्पले आफ्नो ट्रुथसोसियल अकाउन्टमा यदि क्यालिफोर्नियाका गभर्नर न्युसम र लस एन्जलसका मेयर करेन बासले आफ्नो काम गर्न नसके सङ्घीय सरकारले हस्तक्षेप गर्ने बताएका छन् ।
यस हप्ता अहिलेसम्म आईसीईको कारबाहीका क्रममा एक सय १८ जना पक्राउ परेका छन् ।