नवलपरासीमा गत जेठ १३ गते बिहानै फुटबलर बिमल घर्ती मगरकी बहिनी मनिषाको शव फेला प¥यो । तीन जनाको परिवारमा बिमल बेल्जियम थिए । बितेको रात मनिषाकी आमा बुटवल थिईन् । घरमा एक्लै भएको बेला उनको ज्यान गयो । घटनामा संलग्नताको आशंकामा घर नजिकैका प्रेमी रुद्रनारायण चौधरी (आशिष) प्रहरी नियन्त्रणमा छन् । अहिलेसम्म हत्या भएको प्रमाण भेटिएको छैन । अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
पोखरामा एक साता पछि उस्तै घटना दोहोरियो । घरमा एक्ली वृद्धाको शव घाँटी काटिएको अवस्थामा सडिसकेको अवस्थामा फेला परेको छ । पोखरा ६ मालपोत कार्यालय, कास्कीको ठीक पारिपट्टी घरमा रहेकी एकल महिला हत्या भएको दुई दिनपछि बल्ल शव फेला परेको हो । पुर्णादेवी विक ६५ वर्षकी थिईन् । श्रीमान्को मृत्यु भईसकेको छ । एक्लो छोरा जर्मनी छन् । छोरीको घर लेखनाथ हो । पाँच कोठे एक तले घरमा तीन महिना अघिसम्म डेरामा बस्ने थिए । अहिले एक्लै थिईन् । जेठ १९ गते बिहानसम्म छिमेकीले देखेका थिए । त्यसपछि नदेखिएकी बिकको हत्या भएको शुक्रबार दिउँसो मात्र पत्तो भयो । मनिषा जस्तै पुर्णादेवी घरमा एक्लै हुँदा ज्यान गुमाईन् ।
घटनास्थल पुगेर प्रहरीले अवलोकन गर्दा पुर्णादेवीको हत्या नै भएको स्पष्ट हुन्छ । शवको प्रकृतिको बारेमा श्रोतले भन्छ ‘घाँटी रेटिएको अवस्थामा शव भेटिएको छ । आफ्नै कोठाको खाट मुनि भुईंमा राखेर सिरक ओढाईएको छ । झ्याल ढोका पुरै बन्द छ ।’ बुधबार विहानसम्म घर भित्र बाहिर गरेको छिमेकीले देखेका छन् । दुई बोरा मासको बिस्कुन जस्ताको तस्तै अवस्थामा छ । चिया पकाउन ठीक्क पारेको अवस्थामा देखिएकाले बुधबार दिउँसो खाजा खाने समयतिर नै हत्या भएको हुनसक्ने अनुमान गरिएको छ । उनकी छोरीकै उपस्थितिमा शुक्रबार दिउँसो साढे २ बजेतिर प्रहरीले शव उठाएको थियो । उनको शव निकै गलेको अवस्थामा भेटिएको छ । शरीरबाट निस्केको रगत मिसिएको दुर्गन्धित पानी ढोकासम्मै आईपुगिसकेको थियो ।
छोरीका अनुसार पुर्णादेवीले घाँटीमा सिक्री र कानमा मुन्द्री लगाएकी थिईन् । शवमा उनले लगाएको गहना नभएको तर दराजभित्रका सबै गरगहना र पैसा रहेकाले गरगहनाकै लागि हत्या भएको जस्तो नदेखिएको बताईन्छ । शव अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा छ । जिल्ला प्रहरी प्रमुखले अन्तर्गतका विभागीय प्रमुखहरुलाई साँझ डाकेर आवश्यक निर्देशन दिईसकेका छन् । २००७ साल फागुनमा जन्मिएकी पुर्णादेवी यो उमेरमा पनि टाठीबाठी थिईन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरिक्षक गणेश बमका अनुसार प्रहरीले हत्यामा संलग्नको खोजी गर्ने कार्य सुरु भईसकेको र विभिन्न कोणबाट अनुसन्धान सुरु गरिएको छ ।