पोखरा, १० बैशाख २०८२।
भारतको जम्मु कस्मिरमा भएको आतंकवादी आक्रमणमा दुई नेपालीसहित २६ जना पर्यटकको मृत्यु भएको छ। आतंककारी आक्रमणमा मारिनेमा सन्दिप नेउपाने र बिटन अधिकारी नाम गरेका दुई नेपाली पनि रहेका छन्। उनीहरुको नेपालको ठेगाना भने खुलिसकेको छैन।
दैनिक भास्करका अनुसार मारिएकामा एक इटालियन, एक इजरायली पर्यटक र दुई स्थानीय नागरिक छन्। बाँकी पर्यटकहरू गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका हुन्।
हमला मंगलबार दिउँसो २:४५ बजे पहलगामको बैसरन उपत्यकामा भएको हो। मिडिया रिपोर्टअनुसार आतंककारीहरूले एक पर्यटकलाई नाम सोधे र टाउकामा गोली हाने। यसपछि उनीहरू अन्य पर्यटकहरूमाथि गोली चलाउँदै भागे।
यसैबीच आक्रमणको जिम्मेवारी लश्कर-ए-तैयबाले लिएको छ। घटनामा २० जनाभन्दा बढी घाइते भएका छन्। घटनापछि सुरक्षा बलले पहलगामको आक्रमण भएको क्षेत्रलाई घेराबन्दी गरेको छ। हेलिकप्टरबाट पनि निगरानी भइरहेको छ।
जम्मु–कश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले यो आक्रमणलाई पछिल्ला वर्षमा आम नागरिकमाथि भएको ठूलो हमला भनेका छन् ।
जम्मु–कश्मिर घाटीमा पर्यटकहरूको आगमन हुने मुख्य सिजनमा चरमपन्थीहरूले आक्रमण गरेका हुन् । पहलगाम पर्यटकहरूका लागि लोकप्रिय मानिन्छ । यहाँ हरियाली घासे मैदान र नीला तालमा रमाउन यहाँ प्रत्येक वर्ष थुप्रै पर्यटक आउने गरेका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई आतंकवादी हमला भनेका छन् । उनले हमलामा संलग्नलाई सरकारले नछाड्ने उनको भनाइ छ ।
जम्मु–कश्मिरका मुख्यमंत्री उमर अब्दुल्लाहले घटनापछि दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘म स्तब्ध छु, आगन्तुकहरूमाथि भएको यो आक्रमण अत्यन्त निन्दनीय छ ।’