पोखरा,६ बैशाख २०८२।
भारतको पन्जाबमा चरमपन्थी आक्रमणको योजना बनाएको आरोपमा एक भारतीय अमेरिकामा पक्राउ परेका छन्। संघीय अनुसन्धान ब्युरो (एफबीआई)ले सामाजिक सञ्जाल एक्समा गरेको पोस्टमा हरप्रीत सिंहलाई ‘भारतको पन्जाबमा भएको आतंकवादी हमलाका लागि जिम्मेवार’ भनिएको छ।
उनलाई संघीय अनुसन्धान ब्युरो (एफबीआई)सँग मिलेर इन्फोर्समेन्ट एन्ड रिमुभल अपरेसन (ईआरओ) ले शुक्रबार स्याक्रामेन्टोबाट पक्राउ गरेको बताइएको छ। हाल हरप्रीत सिंह हिरासतमा छन् र उनले आरोपमा कुनै टिप्पणी गरेका छैनन्।
एफबीआईले हरप्रीत सिंहको दुई अन्तर्राष्ट्रिय आतंकवादी संगठनसँग सम्बन्ध रहेको र उनी अवैध रूपमा अमेरिका प्रवेश गरेको दाबी गरेको छ। एफबीआईका अनुसार सिंहले पक्राउबाट बच्न बर्नर फोन प्रयोग गरिरहेका थिए।
सिंहको अर्को नाम ह्याप्पी पासिया हो। सन् २०२४ मा चण्डीगढको एक घरमा भएको ग्रेनेड आक्रमण घटनामा भारतीय अनुसन्धान अधिकारीहरूले उनलाई खोजिरहेका छन्।
यस वर्षको जनवरीमा राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले हरप्रीत सिंहबारे जानकारी दिनेलाई पनि ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो।