पोखरा, २९ चैत २०८१।
अमेरिकाको न्यूयोर्क सिटीस्थित हडसन नदीमा बेल २०६ हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ। स्पेनबाट न्यूयोर्क सिटी भ्रमण गर्न आएका पाँच पीडित पर्यटकहरु सवार हेलिकप्टर स्थानीय समय अनुसार दिउँसो तीन बजेर १५ मिनेटतिर म्यानहट्टनको वेस्ट साइड हाइवे र स्प्रिङ स्ट्रिट नजिकै दुर्घटनाग्रस्त हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको हो ।
हेलिकप्टरमा सवार एक पाइलट, दुई वयस्क र तीन बच्चा सबै छ जनाको शव बरामद गरिसकिएको प्रहरीले जानकारी दिएको छ।
आपतकालीन कर्मचारीहरू बेलुकासम्म घटनास्थलमा खटिएका थिए। प्रहरीले चालकहरूलाई आसपासका क्षेत्रमा आपतकालीन सवारी साधन र ट्राफिक ढिलाइको अपेक्षा गर्न चेतावनी दिएको छ।
मेयर एरिक एडम्सले सामाजिक सञ्जालमा पोस्ट गर्दै हडसन नदीमा भएको हृदयविदारक र दुखद दुर्घटनाको घटनास्थलमा टोली पुगेको बताएका छन्। अग्निनियन्त्रक र प्रहरीले नदीको न्यूजर्सीतर्फ उद्धारकर्ताहरूलाई सहयोग गरिरहेको जनाउँदै यसबीचमा म्यानहट्टनको पियर ४० नजिकको क्षेत्रमा नजान सुझाव दिएका छन्।