पोखरा, २१ चैत २०८१।
संयुक्त राज्य अमेरिकाले नोबेल शान्ति पुरस्कार विजेता कोस्टारिकाका पूर्व राष्ट्रपति ओस्कर अरियासको भिसा रद्द गरेको छ ।
अरियासले अमेरिकी सरकारबाट प्राप्त भएको इमेलमा भिसा रद्द गरिएको आफूलाई सुचना प्राप्त भएको बताएका छन ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेको केही हप्ता पछि अमेरिकाले आफ्नो भिसा रद्द गरेको ओस्कर अरियासले बताएका छन्। उनले ट्रम्पको व्यवहारलाई रोमन सम्राटको व्यवहारसँग तुलना गर्दै आलोचना गरेका थिए ।
अरियासले अमेरिकाको सरकारी निकायबाट भिसा रद्द गरिनुको कुनै स्पष्ट कारण प्राप्त नगरेको बताएका छन । ८४ वर्षीय अरियासलाई मध्य अमेरिकामा संघर्षहरूको अन्त्य गर्न महत्त्वपूर्ण भूमिका खेलेका कारण नोबेल शान्ति पुरस्कार दिइएको थियो ।
तर अरियासले चीनसँगको आफ्नो नजिकको सम्बन्धको कारण पनि भिसा रद्द भएको हुनसक्ने बताएका छन । उनले २००६ देखि २०१० सम्मको कार्यकालमा कोस्टारिकाको राष्ट्रपति हुँदा ताइवानसँगको कूटनीतिक सम्बन्धलाई समाप्त गरेर चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गरेका थिए ।
ट्रम्प प्रशासनले अमेरिकाको पश्चिमी गोलार्धमा चीनको प्रभावको विरोध गर्दै आएको छ । केहि मध्य अमेरिकी सरकारलाई चीन सरकार र चिनियाँ कम्पनीहरूसँग देखिएको भन्दै अमेरिकाले आरोप पनि लगाएको छ। तर, वर्तमान कोस्टारिका राष्ट्रपति रोड्रिगो चाभेसको प्रशासनलाई भने अमेरिकाले समर्थन गरेको छ ।
राष्ट्रपति चाभेस र अमेरिकाबीचको नजिकको सम्बन्धको आलोचना गर्दै अरियासले आफ्नो सामाजिक सञ्जालमा ‘सानो देशको लागि अमेरिकाको सरकारसँग असहमत हुनु कहिले पनि सजिलो हुँदैन, विशेषगरी जब यसको राष्ट्रपति रोमन सम्राटको जस्तो व्यवहार गर्दै अरूलाई के गर्नुपर्ने बताउँछ’ भनेर पोष्ट गरेका थिए । समाचारस्रोत खसोखास डट कम