पोखरा, २० फागुन २०८१।
अमेरिकाको पेन्सिल्भेनिया राज्यको फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मोहन थापालाई त्यहाँको प्रहरीले सोमबार अड्डा सार गरेको छ।
थापालाई अमेरिकाले नेपाल फिर्ता पठाउने अड्कलबाजीहरु भैरहंदा त्यहाँको प्रहरीले सोमबार अड्डा सार गरेर मोशानन भ्याली आइस प्रोसेसिङ्ग सेन्टर लगेको हो। उनीमाथि के र कस्तो आरोपहरु लगाइएको छ भन्ने बारेमा अहिलेसम्म सार्वजनिक गरिएको छैन।
रास्वपाका संस्थापक सभापति रबि लामिछानेका विश्वास पात्र थापालाई नेपालबाट कतार हुँदै अमेरिका आउने क्रममा अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन (आइस) ले पक्राउ गरी हिरासतमा राखेको थियो ।
थापा नेपाल र अमरिका दुव ठाउँमा पटक पटक विवादमा परेका व्यक्ति हुन् । उनी अमेरिका रहँदा फर्जी कागज बनाएको, नक्कली सवारी चालक अनुमति पत्र बिक्री गरेको लगायतका आरोपमा अदालतबाट दोषी ठहर भई जेल बसेका व्यक्ति हुन्।
नेपालमा रहँदा पनि उनी माथि रास्वापा सभापति लामिछानेको निकट रही आर्थिक हिनामिना गरेको आरोप लाग्दै आएको छ ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले भने थापाले पार्टीबाट अलग हुन निवेदन दिएको बताएका छन्।
रास्वपाका सांसद ढाका श्रेष्ठले मन्त्री हुन पार्टी नेतृत्वलाई घुस खुवाउन भन्दै व्यापारी दुर्गा प्रसाईं सँग पैसा मागेको अडियो बाहिरिए पछि थापा पनि विवादमा मुछिएका थिए।
त्यस पछि थापाले घटनाका सम्वन्धमा हुने छानबिनलाई सहयोग गर्न भन्दै पार्टी जिम्मेवारीबाट अलग भएको बताएका थिए । तर त्यस पछि पनि उनी पार्टी केन्द्रिय समितिको बैठकमा सहभागी हुने गरिएको पाइएको छ ।
अमेरिका आउनु अगाडि पनि थापाले कतारमा पार्टीको कार्यक्रममा सहभागिता जनाएका थिए । थापाको फेसबुक पेजमा अझै पनि रास्वपाको केन्द्रिय सदस्य नै उल्लेख छ । समाचारस्रोत समाजटाइम्स