पोखरा , २१ माघ २०८१ ।
पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लब र महिलातर्फ आयोजक टाइगर ग्रुप च्याम्पियन बनेका छन्। आइतबार पोखरा रङ्गशालामा भएको फाइनल खेलमा पुरुषतर्फ विभागीय टोली पुलिस र महिलातर्फ पहिलो सहभागितामै आयोजक टाइगरले उपाधि जितेका हुन्।
पुरुषतर्फ गण्डकीलाई ३–१ सेटले हराउँदै गर्दै पुलिस पुरुषतर्फ च्याम्पियन बन्यो। पुलिसले पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२१ जितेपछि तेस्रो सेट २०–२५ ले गण्डकीलाई सुम्पियो। दोस्रो सेटमा १२–१५ को अग्रतालाई उल्टाउँदै पुलिसले २५–२१ को जित निकालेको थियो।
चौथो सेट २५–२२ ले जित निकाल्दै पुलिसले उपाधि पायो। विजेता पुलिसले पाँच लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ पाउँदा गण्डकीले दुई लाख ८५ हजार पाँच सय ५५ रुपियाँमा चित्त बुझाएको छ।
आइतबारै भएको महिलातर्फको फाइनलमा सशस्त्र प्रहरी बल -एपिएफ_ क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक टाइगर ग्रुपले उपाधि पायो।
पहिलो सेट १७–२५ ले गुमाएको आयोजकले दोस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पारेको थियो। पुनः तेस्रो सेट २१–२५ ले एपिएफलाई सुम्पिएको आयोजक टोलीले चौथो सेटमा २५–१६ ले पुनरागमन गर्दा खेल पाँचौ सेटमा पुग्यो।
पाँचौं सेटमा आयोजकले १५–१३ को जित निकाल्दै उपाधि चुमेको हो। उपाधि जितेको टाइगर ग्रुपले पाँच लाख ८५ हजार पाँच सय ५५ रुपियाँ प्राप्त गर्याे। फाइनलमा पराजित भएको एपिएफले दुई लाख ८५ हजार पाँच सय ५५ रुपियाँमा चित्त बुझायो।
माघ १२ गते सुरु भएको प्रतियोगितामा महिला÷पुरुष दुवैतर्फ समान छ टोली सहभागी थिए।
यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार , पहल गहतराज र अम्फा सोमसुरात एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी बनेका छन् । आफ्नो टोलीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका पहल पुरुषतर्फ र महिलातर्फ अम्फा सर्वोत्कृष्ट खेलाडी बनेका हुन् । पहल नेपाल पुलिस क्लब र अम्फा आयोजक टाइगर ग्रुप अफ पोखराबाट प्रतियोगिता खेलेका थिए । सर्वोत्कृष्ट बनेका दुवैजनाले ट्रफीसहित २५ हजार ७७७ रुपैयाँ प्राप्त गरे ।
पुरुषतर्फ उत्कृष्ट स्पाइकर गण्डकीका रमनकुमार, सर्भर गण्डकीकै सञ्जुकुमार शाह, सेटर विवश आलेमगर, ब्लकर पुलिसका रविन नगरकोटी, लिबिरो आर्मीका इश्वर थापा र प्रशिक्षक पुलिसकै चन्द्र कुँवर बने ।
महिलातर्फ उत्कृष्ट स्पाइकर एपिएफकी सरस्वती चौधरी, सर्भर एपिएफकै निरुता ठगुन्ना, सेटर टाइगर ग्रुपका अरुणा शाही, ब्लकर टाइगर ग्रुपकै नान्तिकान टुनिपो, लिबिरो न्यू डायमण्डकी सलिना श्रेष्ठ र प्रशिक्षक टाइगर ग्रुपका अर्जुन घिमिरे घोषित भए । विधागततर्फ उत्कृष्ट हुनेले ट्रफीसहित १० हजार ५५५ रुपैयाँ प्राप्त गरे ।
पुरुषतर्फ पुलिसले गण्डकी प्रदेश र महिलातर्फ टाइगर ग्रुपले एपिएफलाई पराजित गर्दै उपाधि जितेको थियो ।