नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भवानी राणाहुनु भएको छ। महासंघको संशोधित विधान अनुसार वरिष्ठ उपाध्यक्ष रहनु भएकी राणा उद्योग वाणिज्य महासंघको अध्यक्ष बन्नु भएको हो। यस्तै मंगलबार भएको महासंघको चुनावमा प्रतिद्वन्द्वी किशोकुमार प्रधानलाई ह राउँदै शेखर गोल्छा महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका छन्।
यस्तै जिल्ला नगर उपाध्यक्षमा प्रमोद श्रेष्ठ विजय भएका छन्। त्यस्तै वस्तुगत उपाध्यक्षतर्फ उमेशलाल श्रेष्ठ विजयी भएका छन् भने एशोसिएट उपाध्यक्षमा चन्द्र ढकाल यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।
महासंघमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघको मतभार ५० प्रतिशत हुन्छ । ९९ वटा वस्तुगत सदस्यको मतभार २० प्रतिशत हुन्छ । ८५६ एशोसिएट सदस्यको मतको हिस्सा ३० प्रतिशत छ ।
जिल्लामा शेखरले ६१ मत प्राप्त गरे भने किशोरले ४२ मत ल्याए। उता वस्तुगतमा किशोरले ५१ मत पाए भने शेखरले ४७ मत पाए ।

वस्तुगततर्फ प्रधानले केही बढी मत ल्याएपनि जिल्ला तथा नगरमा बढी मत ल्याएपछि गोल्छाको जीत निश्चित भएको हो । अब ३० प्रतिशत मतभार रहेको एशोसियटतर्फको गणना सक्न बाँकी छ ।
एशोसियटमा पनि गोल्छाकै राम्रो पकड छ । एशोसियटतर्फ आफ्नो कमजोर उपस्थितिकै कारण किशोरले समूहले यसमा प्यानल बनाएर उम्मेदवारी दिएको थिएन ।
को-को भए उपाध्यक्ष ?
महासंघको चुनावबाट जिल्ला तथा नगरको उपाध्यक्षमा प्रधान समूहका प्रमोद श्रेष्ठले जित हात परेका छन् । म्याग्दी उद्योग वाणिज्य संघबाट उनी उम्मेदवार बनेका थिए । प्रमोदले गोल्छा समूहका दिनेश श्रेष्ठलाई पराजित गरेका हुन् ।
त्यसैगरी वस्तुगततर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ विजयी भएका छन् । उनले प्रधान समूहका शंकर प्रसाद पाण्डे र अनुपबहादुर मल्ललाई पराजित गरे । एशोसियटतर्फबाट भने चन्द्रप्रसाद ढकाल निर्बिरोध उपाध्यक्ष भएका छन् ।
निर्वाचनबाट केन्द्रीय कार्यसमिति सदस्यमा गोल्छा समूहकै बर्चश्व हुने देखिएको छ । महासंघमा गोल्छा समूहको स्पष्ट बुहमत रहने देखिएको छ ।
वस्तुगतमा को-को अाए ?
वस्तुगत र जिल्ला तथा नगर समूहको केन्द्रीय सदस्यमा गोल्छा प्यानलका उम्मेदवार नै बढी विजयी भएका छन् । वस्तुगतर्फ गोल्छाका ११ सदस्य निर्वाचित हुँदा प्रधानका ३ जना आएका छन् ।
वस्तुगततर्फ केन्द्रीय सदस्यमा सबैभन्दा धेरै मत ल्याएर अञ्जन श्रेष्ठ विजयी भएका छन् । उनले कुल ७३ मत ल्याएका हुन् । उनी लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका प्रवन्ध निर्देशक तथा नडा अटोमोबाइल्स एशोसियशनका अध्यक्ष हुन् ।
वस्तुगततर्फ आकाश अधिकारी, कमला श्रेष्ठ, विनोद ढकाल, शिवप्रसाद घिसिरे, सकुन्तलाल हिराचन, रबिनकुमार श्रेष्ठ, सुनिगोपाल श्रेष्ठ, सन्दीपकुमार अग्रवाल, हेमराज ढकाल, तिलचन्द्र भट्टराई र जयप्रसाद शिवाकोटीले जितेका छन् ।
जिल्ला तथा नगरमा पनि गोल्छा हावी
त्यसैगरी जिल्ला तथा नगरमा पनि गोल्छाकै बहुमत देखिएको छ । जिल्ला/नगरको १८मध्ये १६ केन्द्रीय सदस्य गोल्छा प्यानलबाटै निर्वाचित भएका छन् । २ जना मात्रै प्रधान समूहबाट केन्द्रीय समितिमा आएका छन् ।
जिल्ला तथा नगरतर्फ उमेश डालमियाले सबैभन्दा बढी ८९ मत ल्याएका छन् । सुरकृष्ण वैद्य, राजन श्रेष्ठ, मनिषलाल प्रधान, कृष्णप्रसाद शर्मा, कृष्णप्रसाद श्रेष्ठ, दिपक लम्साल, कृष्णप्रसाद श्रेष्ठ, ध्रुवराज श्रेष्ठ भारी, दिलशुन्दर श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ, निरक केसी, किशोरकुमार आचार्य, सुरेन्द्रप्रसाद श्रेष्ठ, चन्द्रकान्त अधिकारी र कल्याण जोशीले केन्द्रीय सदस्यमा जित हात पारेका छन् ।
देबकुमार श्रेष्ठ र सुदर्शन कार्कीले समान मत ल्याएकाले एक केन्द्रीय सदस्यमा लागि गोलाप्रथा हुनेछ ।
एशोसियटमा कसको पकड ?
एशोसियटतर्फ पनि गोल्छा प्यानलको बहुमत सुनिश्चित जस्तै छ । १२ जना निर्वाचित हुने यो समूहमा प्रधान समूहबाट ३ जनाको मात्रै उम्मेदवारी छ । बाँकी सबै गोल्छा प्यानलका उम्मेदवार छन् । त्यसैकारण अब भवानी राणाको नेतृत्वमा रहने महासंघमा गोल्छा समूह बलियो रुपमा रहनेछ ।
अब केन्द्रीय कार्यसमितिमा गोल्छा समूहको पकड रहने भएपनि कोषध्यक्षमा ज्ञानेन्द्रलाल प्रधान हुने निश्चित जस्तै भएको छ । उनलार्इ यसअघि नै प्यानल घोषाणा गर्दा गोल्छा समूहले कोषाध्यक्षका रूपमा अघि सारको थियो ।