पोखरा, १३ माघ २०८१ ।
सुनसरीको धरानमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा ड्युटीमा खटिएका दुई जना प्रहरी गम्भीर घाइते भएका छन् ।
कोशी लोकमार्गअन्तर्गत धरान उपमहानगरपालिका–८ भोटेपुलमा राति ११ः४५ बजेतिर को २० प ६५६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ड्युटीमा रहेका दुईप्रहरी घाइते भएका हुन्।
इलाका प्रहरी कार्यालय धरानबाट धरानबाट भोटेपुलतर्फ जाँदै गरेको उक्त मोटरसाइकल अचानक टायर पन्चर भएर दुर्घटनाग्रस्त हुँदा झापाको प्रहरी चौकी महेशपुर दरबन्दी भइ इलाका प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी सहायक हवल्दार ताप्लेजुङको फुङलिङ नगरपालिका–२ का अन्दाजी ३४ वर्षीय आइतराज लिम्बू र पछाडि सवार इलाका प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी हवल्दार सप्तरी घर भएका अन्दाजी ३९ वर्षीय सुर्तीलाल चौधरी गम्भीर घाइते भएका छन् ।
टाउकोमा चोट लागेका दुवै जनालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । दुवै जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
दुर्घटनाग्रस्त मोटरसाइकल इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक अनुसन्धानबाट टायर पन्चर हुँदा मोटरसाइकल दुर्घटनामा परेको पत्ता लागेको छ । सांकेतिक चित्र