पोखरा, १२ माघ २०८१ ।
दलालको प्रलोभनमा परेर युक्रेन पुगेका दुई नेपालीहरू विगत नौ महिनादेखि त्यहाँको जेलमा बस्न बाध्य भएका छन्।
तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखा घर भएका ३९ वर्षीय शेरसाम्बो शेर्पा गत मे महिनादेखि युक्रेनको मिकोलाइटस्थित एमसीसी डिटेन्सन केन्द्रमा रहेका छन्।
नयाँ दिल्लीस्थित एक एजुकेशन कन्सल्टेन्सीबाट तीन महिनाको विद्यार्थी भिसामा युक्रेन पुगेका
प्राप्त जानकारी अनुसार , राम्रो कमाइ हुने प्रलोभन देखाएर भारतीय एजेन्टले तीन महिने बिद्यार्थी भिसामा उनीहरुलाई भारत हुँदै युक्रेन पुर्याएका थिए। तीन महिनाको भिसा सकिएपछि भिसा थप्न गएका बेला उनीहरुलाई युक्रेनी सेनाले कब्जामा लिएर अहिले जेलमा राखेको फुर्वा शेर्पाले जानकारी दिए। उनले आफुहरु कालो बन्द कोठामा विहान पाउरोटी र साँझ पाउरोटीको भरमा जीवन बिताइरहेको बताए।
आफूहरूको उद्धारको लागि नेपाली दूतावास जर्मनी र रूससँग पटक-पटक बिन्ती गरे पनि नेपाल सरकारको तर्फबाट कुनै सुनुवाइ नभएको उनको गुनासो छ । तर जर्मनीस्थित नेपाली दूतावासका नियोग उपप्रमुख सागरप्रसाद फुयाँलले नेपाली दूतावासको तर्फबाट गर्न सकिने सबै प्रयास गरिएको दाबी गरेका छन्। ‘उनीहरूलाई माल्दोवाको ट्रान्जिट भिसामा मात्र बाहिर निकाल्न सकिन्छ, तर उनीहरू अहिले अनडोक्युमेन्टेड (भिसा सकिएको) अवस्थामा रहेका कारण कानूनी रूपमा ट्रान्जिट भिसा मिलाउन अप्ठ्यारो छ,’ उपप्रमुख फुयाँलले भने।
उनले युक्रेनस्थित आईएमओ, बोर्डर प्रहरी, अध्यायन विभाग र युक्रेनका लागि श्रीलंकन अनरीकाउन्सिलरको समन्वयमा उद्धारको प्रयास जारी रहेको पनि जानकारी दिए। ‘हामीले युक्रेनको सरकारी निकायसँग १० औं पटक पत्राचार गरेका छौं। उनीहरूलाई सुरक्षित रूपमा नेपाल ल्याउन नेपाली दूतावास बर्लिन र मस्कोले समन्वय गरेर काम गरिरहेका छन्। छिट्टै सकारात्मक नतिजा आउनेमा हामी विश्वस्त छौं,’ फुयाँलले थपे।
शेर साम्बो शेर्पाले नेपालमा एक छोरी र श्रीमतीलाई छाडेर युक्रेन आएको अवस्थामा छिट्टै नेपाल फर्कंने वातावरण बनाइदिन नेपाल सरकारसँग अनुरोध गरेका छन्।