पोखरा,६ माघ २०८१।
एक महिनाअघि भक्तपुरको बालकोटमा बुबा र भाईको हत्या गरेको आरोप लागेका एक युवा जेल चलान भएका छन्।
जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त प्रमुख रहेका आफ्ना बुबा कुलप्रसाद आचार्य र भिएस निकेतन कलेजमा स्नातक तहमा अध्ययनरत भाई प्रवीण आचार्यको गत पुष ७ गते हत्या गरेको आरोप लागेव्का जिल्ला अदालत भक्तपुरको आदेश बमोजिम मिलन आचार्य पुर्पक्षमा रहने गरी जेल चलान भएका हुन्। अदालतको आदेशअनुसार उनी केन्द्रीय कारागार चलान भएका छन् ।
जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेलले दिएको जानकारी अनुसार , मिलनले नायब सुब्बा पदमा सात पटक र अधिकृत पदमा एकपटक लोक सेवाको परीक्षा दिएका थिए। तर, असफल भएपछि सधैँ बुबा कुलप्रसाद आचार्यले उनीसंग गुनासो गर्ने गर्दथे।
लोक सेवाको परीक्षामा बारम्बार फेल भएको र प्रगति गर्न नसकेको भनेर बुबाले भनेको कुराले विक्षिप्त भएर आफूले त्यसरी हत्या गरेको बयान उनले दिएका छन् ।
शनिबार बेलुका सँगै खाना खाएर उनीहरू सुतेका थिए। बुबा र मिलन एउटै कोठामा सुतेकोमा त्यो दिन पनि बुबाले लोक सेवामा नाम निकाल्न नसकेको भनेर गुनासो गरेपछि रातभरि निधाउन नसकेको र बिहान सबैलाई मारेर मर्ने योजना बनाएको उनको बयान छ ।
प्रहरीका अनुसार सुरुमा उनले बुबाको हत्या गरेका थिए। डम्बबेलले टाउकोमा प्रहार गरी निदाएको अवस्थामा बुबाको हत्या गरेका हुन्। त्यसपछि किचनमा गएर पानी पिएको र त्यहाँ सुतिरहेका भाइलाई सिलौटोले हानेर हत्या गरेका थिए ।
हत्यापछि रगत लागेको लुगा झोलामा राखेर कोठामा बाहिरबाट ताला लगाई उनी निस्किए। त्यहाँबाट भक्तपुरको बिरुवास्थित जंगलमा गएर गलबन्दीले पासो लगाएर आत्महत्या प्रयास गरेको, तर गलबन्दी खुस्किएपछि आफूलाई मर्नुहुन्न भनेर लागेर त्यहाँ चाबहिल पुगेको उनको बयान छ।
हत्यापछि दुई दिनसम्म चाबहिलको सगरमाथा गेस्ट हाउसमा बसेका थिए। आइतबारदेखि नै मोबाइल स्विच अफ गरेका थिए। मंगलबार बिहान पत्रिकामा बुबा र भाइको हत्याबारे समाचार पढेपछि उनी प्रहरी वृत्त महाराजगन्जमा पुगेका थिए।
आफूबाट परिवार र आफन्तले धेरै अपेक्षा गरेको, तर त्यसअनुसार प्रगति गर्न नसक्दा तनावमा आएर यस्तो निर्णय गरेको उनले प्रहरीमा बताएका छन्। उनले नायब सुब्बा पदमा सात पटक र अधिकृत पदमा एकपटक लोक सेवाको परीक्षा दिएका थिए। तर, असफल भएपछि सधैँ बुबाले गुनासो गरेकोले आफू थप तनावमा परेको उनको भनाइ छ।