पोखरा,५ माघ २०८१।
दाङमा साथीको गोली हानेर हत्या गरेको आरोपमा दुई जना युवा पक्राउ परेका छन्। दंगीशरण- २ कौवाघारीमा प्रेम कुसारीको गोली हानी हत्या गरेको अभियोगमा दंगीशरण- २ कै छविलाल डांगी र पुष्प बस्नेत पक्राउ परेका हुन् ।
छविलाललाई बाँकेको कोहलपुर र पुष्पलाई तुलसीपुर बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
माघ ३ गते बेलुकी घर नजिकैको जिंगटको रूखबाट खसेर घाइते भएको भन्दै स्थानीयले उचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर हुँदै नेपालगंज पुर्याएका प्रेम कुसारीको उपचारका क्रममा मृत्यु भएको थियो।
खुट्टाको घुँडा र साप्रोमा गम्भीर चोट लागेका उनलाई थप उपचारका लागि नेपालगन्ज लगिएको थियो । त्यहाँ चिकित्सकले कुसारीलाई मृत घोषणा गरेका थिए । गएराति शव घर ल्याएर राति नै उनको दाहसंस्कार गर्ने तयारी थियो । तर, छिमेकीले कुसारीलाई गोली हानिएको सुचना लिक गरेपछि दाहसंस्कार रोकिएको थियो ।
प्रहरी गएराति नै मृतकको घरमा पुगेर अनुसन्धान थालेको छ । प्रहरी स्रोतका अनुसार केहीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा शिकार खेल्न गएका बेला बन्दुक आफैँ पड्केर कुसारीको ज्यान गएको बयान दिएका छन् ।
छिमेकीका अनुसार तीनै जनाले संगै मदिरा सेवन गरेका थिए भने पुष्प र छविलालले कुसारीलाई घट्टेखोला जंगलमा लगेका थिए । घटना स्थल दंगीशरण २ कै घट्टेकुला वन क्षेत्र हो ।
जिप्रका दाङ,इप्रका तुलसीपुर र इप्रका खिलतपुरको संयुक्त टोली घटनास्थल पुगेर हतियारको खोजतलास गरिरहेको छ ।