भारतीय अदालतद्वारा नेपाली युवालाई २० वर्ष कैद सजायं

भारतीय अदालतद्वारा नेपाली युवालाई २० वर्ष कैद सजायं


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २८ पुष २०८१
  • 3.3K
    Shares

पोखरा, २८ पुस २०८१

भारतको एक अदालतले एक जना नेपाली युवालाई २० वर्ष कैद सजायं सुनाएको छ। पिथौरागढ जिल्लाका ‘न्यायालय विशेष सत्र न्यायाधीश (पोक्सो)’ शंकर राजले उक्त फैसला सुनाएका हुन्।

भारतको उत्तराखण्ड राज्य, पिथौरागढ जिल्लाको न्यायालयले बिहीबार दार्चुलाको खलंगा घर भएका ३३ वर्षीय रवि सिंहलाई कक्षा ७ मा पढ्ने १४ वर्षीया किशोरीलाई ०७७ भदौमा बलात्कार गरेको कसुरमा २० वर्षको जेल सजाय तोकेको हो ।

सोही अदालतले सिंहलाई ५० हजार जरिवानाको फैसला पनि सुनाएको छ । यसैगरी, पीडित किशोरीलाई राज्य सरकारले ३० दिनभित्र पाँच लाख क्षतिपूर्ति दिनुपर्ने र किशोरीको पालनपोषणको जिम्मा लिनुपर्ने फैसलामा उल्लेख छ।

मजदुरी गर्न भारत गएका सिंहले बालिकालाई ललाइफकाइ पाँच दिनसम्म कब्जामा राखेर बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।

आफन्तको उजुरी र विभिन्न प्रमाणका आधारमा प्रहरीले अनुसन्धान सकेर मुद्दा दर्ता गरेको थियो। पिथौरागढका जिल्ला शासकीय अधिवक्ता प्रमोद पन्तका अनुसार १६ वर्षमुनिका बालबालिकाहरूमाथि हुने अपराधसम्बन्धी विशेष कानुनअनुसार सजाय तोकिएको हो।

भारतमा सन् २०१२ मा ल्याइएको पोक्सो एक्ट (लैंगिक अपराधबाट बालबालिकाको संरक्षण अधिनियम– २०१२) अनुसार छुट्टै न्यायालयले १६ वर्षमुनिका बालिकामाथि हुने अपराधसम्बन्धी मुद्दा हेर्ने गर्छ।

पिथौरागढको जिल्ला न्यायालयले सोही कानुन (पोक्सो एक्ट)अनुसार ४ वर्षअघि बझाङका अर्का एक नेपाली युवकलाई मृत्युदण्डको फैसला सुनाएको थियो।

प्रतिक्रिया