पोखरा,२५ पुष मंसीर २०८१।
लागू औषधको ब्यापारी पक्राउ गर्न गएको प्रहरीले झापाबाट एक जना भारतीयलाई गैंडाको खागसहित समातेको छ।
लागू औषधको ब्यापारी पक्राउ गर्न बुधबार दिउँसो झापाको मेचीनगर नगरपालिका-६ काँकरभिट्टामा रहेको हिमालय गेस्ट हाउस पुगेको प्रहरीले लागूऔषाध तथा एउटा गैंडाको खागसहित एक जना भारतीय समातिएका छन्।
उक्त होटलको कोठा नं. १०२ बुकिङ गरी बसेका भारतको बङगालको उत्तर मेन्दाबारीका भारतीय नागरिक नारायण रामधामलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले उनी बसेको कोठाबाट लागूऔषध खैरो हिरोइन, पेभान स्पेस प्लस लेखिएको औषधि र गैंडाको खाग जस्तो देखिने वस्तु फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाकी प्रवक्ता मेहेगी ल्हामु तामाङले जानकारी दिइन् । कार्टुनभित्र राखेको अवस्थामा भेटिएको खाग जस्तो वस्तुको सतहको गोलाइ १८.६ इन्च, उचाइ ८.६ इन्ज र तौल एक किलोग्राम ७०० ग्राम छ ।
गैंडाको खाग हो होइन भन्ने विषय परीक्षणपछि मात्रै खुल्ने प्रहरीले बताएको छ । प्रहरीले भारतीय नागरिक बसेको कोठाबाट प्लास्टिकको पोकाभित्र राखेको अवस्थामा ३ ग्राम ७६० मिलिग्राम र प्लाष्टिक बाहिर २ ग्राम ८०० मिलिग्राम खैरो हिरोइन पनि बरामद गरेको छ ।
पेभन स्पास प्लस लेखिएको ट्याब्लेट १८ पत्ता, लागूऔषध जोख्नका लागि प्रयोग हुने एउटा डिजिटल तराजु र दुई वटा मोबाइल पनि फेला परेको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टमा राखेर थप अनुसन्धान भइरहेको तामाङले बताइन् ।