पोखरा,२१ मंसीर २०८१।
सुनको गरगहना सरसफाइ गरिदिने बहानामा ठगी गरेको आरोपमा सोलुखुम्बुबाट दुई जना भारतीय पक्राउ परेका छन्।
भारतको साहर्सा पुरुषोत्तमपुर निवासी ३२ वर्षीय अजयकुमार र १९ वर्षीय करणकुमार सुनको गरगहना सरसफाइ गरिदिने बहानामा ठगी गरेको आरोपमा सोलुखुम्बुबाट पक्राउ परेका हुन्।
उनीहरुले सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४, बागवानीस्थित हिरा कार्कीको घरमा आएकी उनकी कान्छी बहिनी जयन्ता कार्कीलाई सुनको गरगहना सरसफाइ गर्ने प्रलोभन देखाई ठगी गरेको आरोप प्रहरीले लगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डिएसपी)द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए।
डिएसपी घिमिरेका अनुसार , उनीहरुले सुनका गरगहना सरसफाइ गरिदिने बहाना बनाई जयन्ताको सुनको सिक्री, औंठी र रिङ लुटेको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको टोलीले अभियुक्तहरूलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए । पक्राउपछि अभियुक्तहरूको साथबाट सुन सफा गर्न प्रयोग गरिएका सामग्री, रसायन र दुवै जनाको झोलासहित ठगीमा प्रयोग भएको सरसामान प्रहरीले बरामद गरेको छ ।अभियुक्तहरुलाई जिल्ला अदालत सोलुखुम्बुबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको अनुसन्धानको जिम्मा लिएका प्रहरी निरीक्षक लक्ष्मण गिरीले बताए ।