पोखरा, १७ मंसीर २०८१।
अपाङ्गताको नक्कली सिफारिशपत्र बनाएर चन्दा माग्दै हिडिरहेका दुई जना बाराका युवा खोटाङमा पक्राउ परेका छन्। गोरखाको शहीद लखन गाउँपालिकाको नक्कली सिफारिश पत्र बनाएर खोटाङमा चन्दा मागेर हिडिरहेका दुई जना युवा पक्राउ परेका हुन्।
खोटाङस्थित इलाका प्रहरी कार्यालय ऐसेलुखर्कले पक्राउ गरेका अभियुक्तहरुमा बारा जितपुर सिमरा उपमहानगरपालिका–५ गढीमाईका १९ वर्षीय अजयराम चमार र जितेन्दरराम चमार रहेका छन्। उनीहरुले बोल्न नसक्ने र कानसमेत नसुन्ने भन्दै गोरखा जिल्लाको शहीद लखन गाउँपालिका वडा नं ११ को नाममा नक्कली सिफारिशपत्र बनाएको प्रहरीले जानकारी दिएको छ।
दीपेन्द्रकुमार शर्मा र सन्तोषकुमार शर्माको नाममा तयार भएको नक्कली सिफारिशपत्र देखाएर उनीहरुले खोटाङको ऐसेलुखर्क गाउँपालिकाका स्थानीयवासीसँग चन्दा माग्दै गरेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ऐसेलुखर्कले जानकारी दिएको छ। उनीहरुको साथबाट प्रहरीले आर्थिक सहयोग गरी दिन भनी तयार भएको नक्कली सिफारिश पत्र समेत बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मोहन पोखरेलका अनुसार , नौवटा वडा मात्रै रहेको गोरखाको सहिद लखन थापा गाउपालिकाले बनाएको भनिएको नक्कली सिफारिशपत्रमा ११ नं वडा लेखिएको छ र वडाध्यक्ष भनेर्को ठाउँमा वडाध्यक्षको नाम पनि उल्लेख छैन। शहीद लखन गाउँपालिका वडा नं ११ ले आर्थिक सहयोगका लागि भनेर दिएको पत्रमा वडाध्यक्षले मङ्सिर १० गते हस्ताक्षर गरेर सिफारिस दिएको देखिन्छ । तर, सिफारिसपत्रमा हस्ताक्षर गर्ने वडाध्यक्षको नाम भने उल्लेख छैन ।
सुचना अधिकारी पोखरेलले अघि भने “पत्रमा उनीहरू जन्मदेखि लाटो र कान नसुन्ने भनेर लेखिएको रहेछ । तर, उनीहरू मजाले बोल्ने र सुन्ने क्षमताका छन् । त्यसैले उनीहरू दुवै जनालाई पक्राउ गरेर कारबाहीका प्रक्रिया अगाडि बढाएका छौँ ।”
पक्राउ परेका दुवै जनाविरुद्ध अवैध चन्दा ऐनअन्तर्गतको कसुरमा खोटाङ जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट विभिन्न कागजपत्र, नक्कली बिरामीको फोटो र नगद रु १७ हजार सात सय ६० बरामद गरेको जनाएको छ । पक्राउ परेका उनीहरूले एक जना व्यक्तिबाट बढीमा रु एक हजारसम्म सहयोग रकम भनेर लिएको देखिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरू दुवै जनामाथि कीर्ते जालसाजीसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।